काठमाडौ, माघ १ – संचारमाध्यमहरुले जनाए अनुसार राष्ट्रपति डा. रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ (१) अनुसार सहमतीय सरकार निर्माणका लागि दलहरूलाई आह्वान गरेका छन्। राष्ट्रपतिबाट सहमतीय सरकार निर्माणको लागि दलहरुलाई माघ ७ गते शुक्रबारसम्मको समय दिइएको छ ।
राष्ट्रपतिले तोकेको समयभित्र दलहरुले सहमतीय सरकार गठन गर्न नसकेमा राष्ट्रपतिले संसदलाई संविधानको धारा ३८ (२) मुताविक बहुमतीय सरकार सरकार गठन गर्न लेखि पठाइने छ ।
यसअघि गत असारमा राष्ट्रपतिले दिएको समयमा सहमतीय सरकार बनाउन नसकेपछि दलहरुले थप एक साताको समय माग गरेको थियो । त्यस समयावधीमा पनि सहमतीय सरकार गठन गर्न नसकेपछि बहुमतीय प्रणालीको एक चक्र दलहरुले पुरा गरिसकेका छन् ।
साउनमा सुरु भएको बहुमतीय सरकार लागि प्रधानमन्त्रीको निर्वाचन झण्डै ६ महिनमा भएको १६ पटक सम्मको निर्वाचनमा पनि परिणाम ननिस्केपछि पुन: प्रकृयाको सुरुवात भएको हो ।
गत बुधबार बाँकी रहेका प्रधानमन्त्री एक्ला उम्मेदवार रामचन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएपछि नयाँ प्रकृयाको लागि बाटो खुलेको हो । उनले १६ पटकसम्म पनि बहुमत पुर्याउन नसकेको र १७ औं पटकमा बिपक्षमा बहुमत पुग्ने निश्चित भएपछि उम्मेदवारी फिर्ता लिएका थिए ।



