पूर्व-पश्चिम राजमार्गका कर्णाली लगायत दर्जनौं पुल खतरामा

दिलबहादुर छत्याल,

 

धनगढी – प्राप्त समाचार अनुसार  चुरे र पुलछेउछाउ प्रतिदिन सैयौं ट्रक ढुंगा, गिट्टी र बालुवा निकाल्नाले पूर्व-पश्चिम राजमार्गका कर्णालीलगायत दर्जनौं पुल खतरामा परेका छन्। सरकारले प्रतिबन्ध लगाए पनि कैलालीमा चुरे फेद, पुल छेउछाउबाट ढुंगा, गिट्टी र बालुवा निकाली भारत निकासीको क्रम रोकिएको छैन।

 

पुलको ५ सय मिटर वरिपरि ढुंगा, बालुवा उत्खनन गर्न नमिल्ने कानुनी प्रावधान छ। कर्णाली पुलनजिकै नदीको किनार, धोवेनी खोला, खुटियालगायत स्थानबाट प्रतिदिन ५ सय ट्रकभन्दा बढी, ढुंगा, गिट्टी, बालुवा उत्खनन भइरहेको स्थानीयले बताए।

अवैध रुपमा ढुंगागिट्टी झिक्दा कर्णाली पुल सुरक्षाका लागि राखिएका १५, १६ वटा ब्लक बगेका छन्।


‘कर्णाली पुल सुरक्षाका लागि राखिएका १५, १६ वटा ब्लक बगिसकेका छन्,’ पुल रक्षक परशुराम कँडेलले भने, ‘पुलका लहरा पनि हल्लिन थालेका छन्।’

सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख अर्जुनजंग थापाले पूर्व-पश्चिम राजमार्गमा कर्णालीवारि आधा दर्जन पुल पूरै जोखिममा रहेको स्वीकारे। ‘शिवगंगा पुल भत्किसकेको छ,’ उनले भने, ‘खुटिया, कान्द्रा, मसुरियालगायत पुल खतरामा परेका छन्।’

चुरेको क्षति र अनियन्त्रित बालुवा, गिट्टी उत्खननले नदीले पुललाई हान्ने र नदीले धार बदलेर पुल एकातिर नदी अर्कोतिर हुन थालेको उनले बताए। ढुंगा, गिट्टी, बालुवा उत्खननमा सरकारी निकाय, राजनीतिक दलका कार्यकर्तालगायतको संलग्नता रहेको स्थानीयको आरोप छ। ‘दिनको ५ सयभन्दा बढी ट्रक ढुंगा, बालुवा बर्दियाको राजापुरको कोठियाघाट र कैलालीको लालबोझी हुँदै भारत लगिने गरेको छ,’ लम्कीका नवराज खनालले भने, ‘राजनीतिक दल र सरकारी निकायको सहयोग नभइकन कसरी खुल्लमखुला ढुंगा, गिट्टी, बालुवा उत्खनन हुन सक्छ?’

विभिन्न ठाउँमा भइरहेको उत्खननले चुरेक्षेत्रमा क्षति भइरहेको छ भने कर्णालीको नमुना पुल लगायत राजमार्गका पुल खतरामा परेको उनले बताए। उत्खनन गर्नेले एक पैसा पनि राजस्व बुझाउने गरेका छैनन्। चर, टोल विकास समितिको नामबाट प्रति ट्रक ७५ रुपैयाँ, चिसापानी पर्यटन समितिका नामबाट सय र लम्की बहुमुखी क्याम्पसका लागि सय असुल्ने गरिएको छ।

एक ट्रक ढुंगा लैजाँदा २ सय ७५ दिएपछि कुनै निकायवाट छेकवार नहुने कर्णाली नदीको किनारबाट ढुंगा उठाइरहेका सिंहबहादुर चौधरीले बताए। ‘अन्यत्र कतै राजस्व बुझाउने गरेको छैन,’ उनले भने, ‘ढुंगा घरमा जम्मा गरेर ठेकेदारलाई बेच्ने हो।’

कैलाली जिल्ला विकास समिति राजस्व शाखाका देवराज भट्टले जिल्लाका खोलामा अमानतका आधारमा ढुंगा, गिट्टी र बालुवा निकाल्न सुदूरपश्चिम ट्रक तथा ट्रयाक्टर ब्यवसायीलाई जिम्मा दिएको बताए।

‘एक ट्रक वराबर २ सय ५० रुपैया एकमुष्ट ट्रक समितिले उठाएर जिविसलाई बुझाउने सहमति भएको छ,’ उनले भने। कैलालीको गोदावरी, खुटिया र खैरलाका केही ठाउँमा मात्र ढुंगा, गिट्टी र बालुवा निकाल्ने सुझाव वातावरणीय अध्ययन टोलीले दिएको छ।