कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ तीन दिनभित्र विघटन हुने

काठमाडौं – संचारमाध्यमहरुले जनाए अनुसार कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ तीन दिनभित्र विघटन हुने भएको छ । विघटनअघि आइतबार कांग्रेसले विधान मस्यौदा समिति गठन गरेको छ ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनअघि नै नेविसंघ विघटन गर्ने तयारी सुरु भएको हो । आइतबार भएको पूर्वअध्यक्षहरुको भेलाले नेविसंघ विघटन गर्न नेतृत्वलाई दबाब दिएको थियो ।

कांग्रेस महामन्त्री प्रकाशमान सिंहले तीन दिनभित्र संगठन विघटन गर्ने आश्वासन दिएको केन्द्रीय सदस्य दिनेश थपलियाले जानकारी दिए । ‘यहि अवस्थामा चुनावमा जान गाह्रो हुन्छ,’ महामन्त्री सिंहको भनाई उद्यृत गर्दै थपलियाले भने, ‘बढीमा तीन दिनभित्र नेविसंघ विघटनको घोषणा हुन्छ ।’

दुई वर्षे कार्यकाल रहेको नेविसंघको समयावधि दुई वर्षअघि नै सकिएको हो । संस्थापन नेविसंघको ०६३ सालमा र नेविसंघ प्रजातान्त्रिकको ०६४ सालमा राष्ट्रिय अधिवेशन भएको थियो । दुई संगठनको एकीकरणपछि संस्थापन नेविसंघका प्रदीप पौडेल अध्यक्ष भएका थिए ।

वर्तमान केन्द्रीय समिति विघटन गरी राष्ट्रिय अधिवेशनको माग गर्दै शेरबहादुर देउवा पक्षधर केन्द्रीय सदस्यहरुले आइतबार सभापति सुशील कोइराला, महामन्त्री प्रकाशमान सिंह, नेताहरु रामचन्द्र पौडेल, अर्जुननरसिंह केसीलगायतसँग भेट गरेको थियो ।

यसैबीच कांग्रेसले अधिवक्ता गोपालकृष्ण घिमिरेको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । घिमिरे असोजमा भएको कांग्रेस महाधिवेशन निर्वाचन समितिका संयोजक थिए ।

समितिमा नेविसंघ उपाध्यक्ष नैनसिंह महर, महामन्त्री प्रतिमा गौतम, मनोजमणि आचार्य र मिथिलेश मिश्र सदस्य छन् । विधान मस्यौदा समितिले आइतबारबाट नै छलफल सुरु गरेको उपाध्यक्ष महरले जानकारी दिए ।