– प्राप्त समाचार अनुसार बहिर्गमन भइसक्दा पनि राष्ट्रसंघीय निकाय अनमिनले जहाज र हेलिकप्टर अवतरण, पार्किङ र यात्रु सेवा शुल्कबापत नागरिक उड्डयन प्राधिकरणलाई बुझाउनुपर्ने रकम चुक्ता गरेको छैन ।
अनमिनले नेपालगन्ज र पोखरा विमानस्थल प्रयोग गरेबापत करिब २ करोड बक्यौता रहेको प्राधिकरण स्रोतले जनायो ।
२०६५ असारमा नै क्षेत्रीय कार्यालय फिर्ता बोलाई आफ्नो आकार सानो बनाएको अनमिनले त्यसअघिकै बक्यौता चुक्ता गरेको छैन । अनमिनको नेपालगन्जको राझास्थित विमानस्थलको ह्याङगर भाडाबापत १ करोड ९६ लाख र पोखरा विमानस्थल प्रयोग गरेबापतको २ लाख ८३ हजार ४ सय ६० रुपैयाँ बक्यौता छ । भाडा नबुझाउँदै अनमिनले गत असार २६ मा नेपालगन्ज र धनगढीस्थित क्षेत्रीय कार्यालय बन्द गरेको थियो । ती कार्यालय बन्दपछि करिब दुई सय ७० कर्मचारीमध्ये ७५ प्रतिशत विदेशी र २५ प्रतिशत नेपालीले अवकाश पाए ।
‘ल्यान्डिङ र पार्किङ शुल्क तिरेको छ,’ नागरिक उड्ठयन प्राधिकरण नेपालगन्जका प्रमुख सुरेश आजादले भने, ‘जहाज राख्ने ह्याङगरको भाडा अझै दिएको छैन ।’ अनमिनले ०६३ फागुनमा नेपालगन्जमा क्षेत्रीय कार्यालय खोलेपछि ल्याएका जहाजसम्बन्धी उपकरण र अन्य सामान राख्न सुरुमा सानो कोठासमेत प्रयोग गरेको थियो । तर पछि पूरै ह्याङगर प्रयोग गरेको हो ।
अनमिनले ०६४ साउनदेखि ०६५ मंसिरसम्म मासिक ९ लाख १८ हजार रुपैयाँमा भाडा बुझाउने गरी ४ वटा टि्वनअटर जहाज अटाउने प्र्राधिकरणको ह्याङगर प्रयोग गरेको हो । त्यसबापात बुझाउनुपर्ने १ करोड ९६ लाख प्राधिकरणले नपाएको आजादले बताए ।
अनमिनले काठमाडौं आएको तेस्रो महिनामा नेपालगन्जमा क्षेत्रीय कार्यालय सञ्चालन गरेको थियो । सुदूरपश्चिममा निगरानी तथा अनुगमन गर्न ०६४ वैशाखमा धनगढीमा कार्यालय स्थापना गरेको थियो । यी दुई कार्यालयले २४ जिल्लामा अनुगमनका लागि ल्याएका हवाई साधन राख्दाको भाडा बाँकी भएको हो ।
पोखरा विमानस्थलमा हेलिकोप्टर अवतरण तथा पार्किङबापतको दुई लाख ८३ हजार चार सय ६० रुपैयाँ रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको विमानस्थलले जनाएको छ । ‘अनमिनको क्षेत्रीय कार्यालय पोखरामा स्थापना भएपछि र त्यसअघिको समेत गरी दुई लाख ८३ हजार चार सय ६० रुपैयाँ बक्यौता बाँकी छ,’ पोखरा नागरिक उड्डयन प्राधिकरणका प्रमुख नरेन्द्रबहादुर थापाले भने । अनमिनले ७ लाख ७६ हजार रुपैयाँ शुल्क बराबर पोखरा विमानस्थल प्रयोग गरेको थियो । त्यसमध्ये उसले ४ लाख ९२ हजार ५ सय ४० रुपैयाँ प्राधिकरणको प्रधान कार्यालय काठमाडौंमा बुझाएको थापाले बताए । प्रायः कम्पनीको हवाई अवतरण, पार्किङ र यात्रुसेवासमेत मासिक रूपमा बिलिङ हुने र शुल्क प्राधिकरण केन्द्रलाई बुझाए हुने प्रावधान छ ।
संविधानसभाको निर्वाचनमा प्राविधिक सहयोग, सुपरीवेक्षण तथा समग्रमा शान्ति प्रक्रियालाई सहयोग गर्ने क्रममा अनमिनले हेलिकोप्टर प्रयोग गर्दै आएको थियो ।
भरतपुर विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार अनमिनले कार्गो बोकेका हेलिकप्टर अवतरण गरेका हुन् । ‘नागरिक उड्डयन प्राधिकरणमा पत्राचार भइसकेकाले तिरिसकेको हुनुपर्छ,’ उनले भने । भैरहवा विमानस्थल प्रयोग गरेबापतको रकम पनि केन्द्रमा पठाइसकेकाले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी हुने विमानस्थल स्रोतले बतायो । उता बाराको सिमरा विमानस्थलमा पनि उसले तिर्न पर्ने सबै रकम भुक्तानी गरिसकेको विमानस्थल स्रोतले जनायो ।
अनमिन प्रवक्ता कसमस विश्वकर्माले भने मिसन सम्झौताअनुरूप विमानस्थल प्रयोगको भाडा सरकारले उपलब्ध गराउनुपर्ने आफूहरूको बुझाइरहेको बताएका छन् । ‘अनमिन बहिर्गमनपछि रहने मिसन लिक्विडेसन टोलीले बाँकी प्रशासकीय काम गर्नेछ,’ उनले भने, ‘टोलीले उड्डयन प्राधिकरण र अन्य सरकारी अधिकारीसँग सम्पर्क गरिसकेको छ ।’ लिक्विडेसन टिमले नेपाल छाड्नुअघि अन्य वैधानिक आर्थिक दायित्व चुक्ता गर्ने उनले बताए ।



