पूर्व-पश्चिम राजमार्गमा ट्रकले साइकलयात्रीलाई जानाजान ब्याक गरेर मारेको भन्दै स्थानीयद्बारा चक्काजाम, सयौं सवारी साधन, यात्रु बीच बाटोमै अलपत्र

सुरेश यादव

 

धनुषा – संचारमाध्यमहरुले जनाए अनुसार पूर्व-पश्चिम राजमार्गअन्तर्गत धारापानी-ढल्केवर खण्डमा एउटा ट्रकले साइकलयात्रीलाई जानाजान ब्याक गरेर मारेको भन्दै स्थानीयले चक्काजाम गराएका छन्। यसपछि सयौं सवारी साधन र यात्रु बीच बाटोमै अलपत्र परेका छन्।

 

ना १ ख ९९०५ नं. को ट्रकले किच्दा धनुषाको हरिहरपुर-८ लालभित्तीका लालु महतोको घटनास्थलमै मृत्यु भएको थियो। प्रत्यक्षदर्शी रामाशीष यादवले बताएअनुसार ट्रकले किचेर घाइते भएका महतो कराएपछि ट्रक चालकले ब्याक गरेर उनलाई थप किचेका थिए।

त्यसपछि ट्रक चालक भागेका छन् भने ट्रक प्रहरी नियन्त्रणमा छ। घटनालगत्तै स्थानीयले सडक जाम गरेका हुन। शव क्षतविक्षत् अवस्थामा छ। चालकलाई नपक्रिएसम्म शव उठाउन नदिने भन्दै उनीहरु प्रशासनविरुद्ध नाराबाजी गरेर सडक अवरुद्ध गरिरहेका छन्।