काठमाडौ – प्राप्त समाचार अनुसार कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा आफ्नो उम्मेदवारी कायम राख्न भेटघाट तिब्र पारेका छन् । संसदीय दलको कार्यालय सिहंदरमा सभासद्हरुसँग उनले आइतबार बिहानैदेखि भेटघाट गर्न थालेका हुन् ।
बलाजु बोहोराटार स्थित निवासमा भेला आयोजना गर्ने तयारी रहेपनि अनावश्यक हल्ला हुने भयले पौडेलले संसदीय दलमै भेटघाट सुरु गरेको बुझिएको छ । शेर बहादुर देउवाले कही दिन अघि बुढानिलकण्ठ स्थित निवासमा केन्द्रीय सदस्य र सभासद्हरुको भेला आयोजना गरी प्रधानमन्त्रीको उम्मेदवारमा आफ्नो दाबेदारी प्रस्तुत गरे पछि पौडेल समूह पनि आन्तरिक छलफलमा जुटेको हो ।
सभासद् कमला पन्तले भने संसदीय दलमा सामूहिक भेला आयोजना नगरिएको बताइन् । दलका नेताले सभासद् भेट्नु सामान्य भएको भन्दै उनले पार्टी भित्र प्रधानमन्त्रीको उम्मेदवारीलाई लिएर गुटबन्दी नरहेको स्पष्टीकरण दिइन् ।
संसदीय दलको विधानमा सरकारको नेतृत्व संसदीय दलका नेताले गर्ने उल्लेख भएपनि केन्द्रीय समितिले फरक निर्णय गर्न सक्छ । संसदीय दलमा देउवाको पक्षमा बहुमत पुर्याउन कठिन देखिएपछि केन्द्रीय समिति मार्फत पौडेलको नाम प्रधानमन्त्रीको उम्मेदवारमा दर्ता गराउन देउवा खेमाका नेताहरु सक्रिय भएका छन् ।



