जनमतसङ्ग्रहबाट एक मधेस प्रदेशको टुङ्गो लगाउनुपर्ने फोरम लोकतान्त्रिकको भनाइ

राजविराज – मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का महासचिव जितेन्द्र देवले एक मधेस वा दुई मधेस भन्ने कुरा जनमतसङ्ग्रहबाट गरिनुपर्ने बताएका छन्।

 

राजविराजस्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय सहमतिबाट हुन नसके जनमतसङ्ग्रहबाट एक मधेस प्रदेशको टुङ्गो लगाउनुपर्ने विचार व्यक्त गरेका हुन्।


महासचिव देवले पछिल्लो समय थारु समुदायले स्वतन्त्र र छुट्टै पहिचानका लागि थरुहट प्रदेश मागिरहेकाले त्यसका लागि पनि जनमतसङ्ग्रह गर्न सकिने उल्लेख गरे।


मधेसी जनताले लगाएको एक प्रदेशको नाराले अलग मधेस बनाउन चाहनेलाई चुनौती दिँदै स्वायत्त मधेस र अखण्ड नेपालको नारालाई बलियो बनाएको उनको दाबी थियो।


मधेसमा जारी सशस्त्र आन्दोलनका कारण मधेसी समाज विखण्डन र विघटनको अवस्थामा पुगेको र जातिजातिबीच दूरी बढाएको भन्दै महासचिव देवले हतियारबन्द आन्दोलन कायम रहे आन्दोलनका उपलब्धि गुम्ने बताए।


तराईमा क्रियाशील सशस्त्र आन्दोलनलाई अपराधी उत्पादनको कारखानाको संज्ञा दिँदै उक्त गतिविधि अविलम्ब बन्द गरी शान्तिपूर्ण सङ्घर्षमा आउन उनले आग्रह गरे।


मधेसका सशस्त्र समूहहरुलाई श्रीलङ्काबाट पाठ सिक्न सुझाव दिँदै महासचिव देवले छिमेकी मुलुक भारत अहिंसाको पक्षमा रहेकाले उक्त आन्दोलनलाई भारतले समेत समर्थन नगर्ने दाबी गरे। रासस