काठमाडौ – संचारमाध्यमहरुले जनाए अनुसार शान्ति प्रकृयाको अनुगमन गरिरहेको राष्ट्रसंघीय मिसन (अनमिन) फर्के लगतै भारतले नेपाली सेनाका लागि आवश्यक घातक तथा गैरघातक सैन्य सामाग्री उपलब्ध गराउने तयारी गरेको छ ।
भारतीय दैनिक इण्डीयन एक्सप्रेसको सोमबारको अनलाइन संस्करणले जनाए अनुसार नेपालको उग्रवाम अतिवादलाई रोक्न र लोकतन्त्रको स्थायित्वका लागि सैन्य सहयोग दिन लागिएको उल्लेख गरेको छ ।
सोमबार उक्त पत्रिकाले नाम उल्लेख नगरेको भारतीय सरकारी स्रोत उदृत गर्दै गत महिना नेपाल सरकारले राइफल, गोलाबारुद, तालिममा आवश्यक समाग्रीहरु तथा एन्टी माइन भेइकलहरुको तत्काल आवश्यकता रहेको भन्दै माग गरेको जनाएको छ ।
‘उच्च तहमा भएको संवादबाट ति आवश्यक सामाग्रीहरु पठाउने निर्णय भइसकेको छ’ समाचारमा भनिएको छ ।
माओवादी शान्ति प्रकृयामा आएपछिको करिव ६ बर्षको अवधीमा भारतले नेपाली सेनालाई कुनै किसिमको घातक सैन्य सामाग्री सहयोग गरेको छैन । सरकार-माओवादीबीच भएको सम्झौता र अनमिनको अनुगमनका कारण ति सैन्य सामाग्रीहरु दिइएको थिएन ।
नेपाली सेनाका अधिकारीहरुले भने तालिम लगायतका कार्यहरुका लागिसमेत हतियार र गोलाबारुद नभएको भन्दै सैन्य सहयोग सुचारु हुनुपर्ने बताउँदै आएको थियो ।



