माओवादी उपाध्यक्ष डा‌‌. बाबुराम भट्टराईद्बारा राजधानी काठमाडौमा भइरहेको पार्टीको जनबिद्रोह सम्बन्धी प्रशिक्षण बहिस्कार

काठमाडौ – प्राप्त समाचार अनुसार माओवादी उपाध्यक्ष डा‌‌. बाबुराम भट्टराईले राजधानीको भृकुटी मण्डपमा भइरहेको पार्टीको जनबिद्रोह सम्बन्धी प्रशिक्षण बहिस्कार गरेका छन् । उनी कार्यक्रम स्थल आएर पनि भित्र नपसी फर्केका हुन् ।

स्रोतका अनुसार भट्टराईले आफ्नो फरक मतलाई तलसम्म लैजान नदिएको र प्रशिक्षणमा आफुलाई बोल्न दिने कार्यक्रम नभएको भन्दै प्रशिक्षणलाई बहिस्कार गरेका हुन् ।

अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष मोहन बैद्यको प्रतिवेदन मिलाएर जनबिद्रोहको लाइन पारित भएपछि भट्टराईले कन्द्रीय समितिको बैठकमा असहमति राख्दै फरक मत राखेका थिए । उनको फरक मतलाई पनि पार्टीको तल्लो तहसम्म छलफलमा लैजाने निर्णय भएको थियो ।

तर, सोमबारदेखि सुरु भएको जनबिद्रोह सम्बन्धी प्रशिक्षणमा उनको प्रतिवेदनलाई स्थान नदिएको र आफुलाई बोल्न नदिएकोलाई पूर्व निर्णय माथिको धोका भन्दै उनले कार्यक्रम बहिस्कार गरेका हुन् ।

भृकुटी मण्डपमा नेवा र ताम्सालिङ् राज्य समितिका गरी करिव चार हजार कार्यकर्तालाई माओवादी अध्यक्ष दाहालले प्रशिक्षण दिइरहेका छन् ।