काठमाडौँ – संविधानसभामा प्रतिनिधित्व गर्ने २८ दलको बैठकले निर्वाचनमा ३ प्रतिशत मत ल्याउने दललाई राष्ट्रिय दलको मान्यता नदिने भनी हिजो तीन प्रमुख दलले गरेको निर्णयलाई खारेज गरेको छ। अल्पसङ्ख्यक र सीमान्तकृत राजनीतिक दललाई दृष्ट्रिगत गरी निर्वाचनमा भाग लिने सबै दललाई राष्ट्रिय दलको मान्यता दिने निर्णय बैठकले गरेको हो।
सोमबार बिहान सिंहदरबारमा बसेको बैठकले नयाँ संविधानमा राष्ट्रिय झण्डाको स्वरूप यथावत् राख्ने सहमति पनि गरेको छ।
बैठकमा झण्डाको किनाराको रङ्गको विषयमा बहस भए पनि अधिकांश दलले हालकै स्वरूपलाई निरन्तरता दिने तर समयको परिवर्तनलाई मध्यनजर गरी नयाँ ब्याख्या गर्नुपर्नेमा सहमति जनाएको थियो।
हिजो सिंहदरबारमा बसेको एकीकृत नेकपा (माओवादी), नेपाली कङ्ग्रेस र नेकपा (एमाले) सम्मिलित बैठकले पनि संविधानमा राष्ट्रिय झण्डाको स्वरूप यथावत् राख्ने निर्णय गरेको थियो।
बैठकमा बाँकी ८३ वटा विवादित विषयमा पनि सामान्य छलफल भएको थियो।
अठ्ठाइस दलको बैठक मङ्गलबार बिहान पुनः बस्नेछ।
– रासस