काठमाडौ – प्राप्त समाचार अनुसार आगामी प्रवेशिका परीक्षा (एसएलसी)को प्रश्नपत्र नेपालमै छापिने भएको छ ।मन्त्रिपरिषद्को आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको बैठकले विदेशमा छापिँदै आएको एसएलसी परीक्षाको प्रश्नपत्र नेपालमै छाप्ने निर्णय गरेको हो ।
आज बसेको मन्त्रिपरिषद् बैठकले चार सचिवहरुको सरुवासमेत गरेको सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री शङ्कर पोखरेलले बैठकपछि पत्रकारहरुलाई जानकारी गराउनुभयो ।
बैठकले ऊर्जा मन्त्रालयमा शीतलबाबु रेग्मी, क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा आनन्दराज पोखरेल, भूमिसुधार मन्त्रालयमा केशव भट्टराई र क्षेत्रीय प्रशासन कार्यालय दिपायलमा छविराज पन्तलाई सरुवा गर्ने निर्णय गरेको छ ।
यसअघि ऊर्जा मन्त्रालयमा रहनुभएका सचिव शङ्कर कोइरालालाई नेपाल ट्रस्टको कार्यालयमा सरुवा गरिएको थियो । त्यस्तै पोखरेल काठमाडौँ महानगरपालिकाको कार्यकारी प्रमुख तथा पन्त भूमिसुधार मन्त्रालयको सहसचिव हुनुहुन्थ्यो ।
भूमिसुधार मन्त्रालयमा ल्याइनुभएका भट्टराई यसअघि लोकसेवा आयोगमा हुनुहुन्थ्यो । त्यस्तै तुलसीराम अग्रवाललाई माल्दिभ्सको महावाणिज्यदूत र खानेपानी संस्थानको महाप्रबन्धकमा धर्मकुमार बजिमयलाई नियुक्त गरिएको छ ।
बैठकले नेपाली सेनाका सहायकरथीद्वय रमीन्द्र क्षेत्री र धीरबहादुर गुरूङको पदावधि तीनवर्षका लागि थप गर्ने निर्णयसमेत गरेको छ ।