माओवादीद्बारा सेनाले एकतर्फी रुपमा हतियार ल्याए शान्ति सम्झौता भंग हुने भन्दै पुन यूद्धमा फर्किने चेतावनी

काठमाडौ – प्राप्त समाचार अनुसार  एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले बृहद शान्ति सम्झौता अनुसार कुनै पनि सेनाले हतियार ल्याउन नपाउने भएकोले एकतर्फी रुपमा  हतियार ल्याए शान्ति सम्झौता भंग  हुने भन्दै त्यस्तो अवस्थामा मुलुक पुन  यूद्धमा फर्किने चेतावनी दिनुभएको छ ।


मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नुभयो-त्यस्तो अवस्था आए हामि यूद्धमा र्फकन बाध्य हुनेछौ । यदि सरकारले शान्ति चाहेको हो भने यसलाई रोक्नुपर्छ । अहिले सहमतिको सरकार बन्नै नसक्ने ठोकुवा गर्दै गजुरेलले आफ्नो पार्टी बहुमतको सरकार गठनको प्रक्रियामा लागिसकेको स्पष्ट पार्नुभयो । उहाँले सहमतिको सरकार बन्न सक्ने स्पष्ट भईसकेको अवस्थामा राष्ट्रपतिले सहमतिकोलागि दिएको समय पनि धेरै भएको बताउनुभयो ।


सहमति र बहुमतीय दुबै पद्धतिमा माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा दावी गर्ने भन्दै यस विषयमा सबै दलहरुसँग छलफल भईरहेको र मधेसवादी दलहरुसँगको छलफल निकै सकारात्मक ढंगले अगाडि बढीरहेको बताउनुभयो । यद्यपि उहाँले माओवादीको नेतृत्वमा सरकार बन्न नसक्ने अवस्थामा एमालेको नेतृत्वलाई पार्टील सहयोग गर्न सक्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो-पहिला झलनाथजीलाई हामिले समर्थनको ब्ल्याङक चेक दिएका थियौ तर अब सर्त भरेर दिन्छौ ।


भारतीय विदेश सचिव निरुपमा रावको नेपाल भ्रमणलाई अहिलेनै शंकाको दृष्टिले हेर्न नहुने भन्दै सकारात्मक सकारात्मक सोचका साथ आएको भए त्यसको स्वागत गर्ने र परिणाम हेरेर विरोध पनि गर्न बताउनुभयो । उहाँले भन्नुभयो-हामि पनि भारतसँगको सम्बन्ध सुधार्ने पक्षमा छौ नकारात्मक परिणाम आएमात्रै विरोध गर्छौ तर भारतकालागी विरोधकोलागी विरोध गर्ने पक्षमा हामि छैनौ ।


पार्टीभित्र पछिल्लो समयमा अन्र्तद्धन्द्ध चलेको स्विकार गर्दै गजुरेलले त्यसलाई पार्टीभित्रको आन्तरिक लोकतन्त्रको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो-अन्तरविरोध नभई आन्तरिक लोकतन्त्रको अभ्यास हुनै सक्दैन  । प्रशिक्षण कार्यक्रमलाई लिएर नेपाली मिडियाले अतिरन्जित प्रचार गरेको पार्टीभित्र भूईचालो गए जस्तो देखिए पनि त्यसले पार्टीलाई केही फरक नपार्ने र पार्टीमा फुट नआउने दावी गर्नुभयो । यसैलाई लिएर कसैले माओवादी फुट्छ भन्ने सोचेको छ भने त्यस्तो नसोचे हुन्छ । केही हुने वाला छैन -उहाँले दावी गर्नुभयो ।


पार्टीभित्र विविध विचार हुने भन्दै उहाँले बहुमतको निर्णय सबैले स्विकार गर्नु पर्ने बताउनुभयो । उहाँले स्पष्ट पार्दै भन्नुभयो-बाबुरामजीले बहुमतको निर्णय स्विकार गर्छु भनेकोले उहाँमाथि कारवाही गर्ने कुनै आवश्यकता छैन । तर कसैले पार्टी निर्णय विपरित गएर बोल्छ भने त्यसलाई कारवाही हुन्छ  ।


नेकपा एमालेका पोलिटब्यूरो सदस्य प्रकाश ज्वालाले काग्रेस र माओवादी दुबैकोलागी मान्य हुने उमेदवार भएकोले अध्यक्ष झलनाथ खनालले भावी प्रधानमन्त्रीमा दावी गर्ने बताउनुभयो । उहाँ माओवादीले खनालको पक्षमा समर्थन गर्ने सम्भावना रहेकोले त्यसलाई नेपाली काग्रेसले पनि समर्थन गर्नु पर्ने बताउनुभयो । पार्टीले खनालको पक्षमा बहुमतीय वा सहमतिय सबै खाले सरकारमा दावी गर्ने पार्टीको निर्णय भएको खुलासा गर्दै उहाँले भन्नुभयो-तर पनि काग्रेस र माओवादी मिले भने एमालेले निर्सत समर्थन गर्छ ।


माओवादीको नेतृत्वमा अहिलेकै अवस्थामा सरकार बन्न नसकने भन्दै उहाँले अहिलेको निकास गैर माओवादी नेतृत्व भएको माओवादीको समर्थनको लोकतान्त्रिक गठबन्धन भएको दावी गर्नुभयो । उहाँले भन्नुभयो-माओवादी विनाको सरकारले निकास दिनै सक्दैन ।


क्लबका अध्यक्ष ऋषि धमलाले शान्ति र संविधानको सुनिश्चितताकोलागी सहमतिको सरकारको आवश्यक भएकोले दलहरुले राष्ट्रपतिले दिएकै समयमा सहमतिको सरकार निर्माण गर्नु पर्ने तर त्यस्तो नभएको अवस्थामा तत्काल बहुमतीय प्रणालीबाट सहमतिको सरकार दिनुपर्ने धारणा राख्नुभयो ।