काठमाडौ – समाचारहरुमा जनाइए अनुसार नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलसंग निणर्ायक वार्ता गर्ने भएको छ । कांग्रेस शीर्ष नेताहरुको बिहीबार संसदीय दलमा बसेको बैठकले सरकार नेतृत्वको दावी नछाड्ने र त्यसका लागि थप पहल गर्ने निष्कर्ष निकालेको छ ।
संविधानसभा निर्वाचनपछि माओवादी र एमालेले सरकारको नेतृत्व गरिसकेकोले अबको नेतृत्व कांग्रेसको हुनुपर्ने पुरानो अडानमा पार्टी अडिग रहेको छ । ‘राष्ट्रिय सहमतिका लागि हरेक ढंगले प्रयास गर्नुपर्छ,’कांग्रेस नेता अर्जुन नरसिंक केसीले भने-‘सहमतिको सरकार नबने अन्य विकल्पका लागि पनि तयार रहनुपर्छ भन्ने पक्षमा छौं ।’ उनले माओवादी र एमालेले सहमति जनाए पार्टी भित्र नेतृत्वको विकल्प पनि दिन सकिने नेताहरुबीच सहमति भएको संकेत दिए ।
त्यस्तै,प्रधानमन्त्री निर्वाचनका लागि संसदको नियमावली संशोधनका विषयमा कांग्रेस आफ्नो अडानमा दृढ रहने भएको छ । नियमावली संशोधनका विषयमा माओवादी र एमालेले प्रस्तावलाई उसले अस्विकार गरेको छ । कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले विश्वव्यापी मान्यता अनुसार नियमावली संशोधन गरिनुपर्ने बताए । पहिलो चरणमा कसैले ५० प्रतिशत मत नल्याए दोस्रो चरणमा बढी मत ल्याउने दुई उम्मेदवारबीच मात्र प्रतिस्पर्धा हुनुपर्ने कांग्रेसको प्रस्ताव छ ।



