एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हान्ने प्रकरणको छानबीन गरिने

Photo8

एमाले अध्यक्ष झलनाथ खनाललाई थप्पड हान्ने देवीप्रसाद रेग्मी ।

 

धरान – प्राप्त समाचार अनुसार  एमाले जिल्ला कमिटी सुनसरीको आकस्मिक सचिवालय बैठकले झापड प्रकरणको छानबीन गर्ने निर्णय गरेको छ। सार्वजनिकस्थलमै पार्टी अध्यक्षमाथि झापड प्रहार भएपछि ३ सदस्यीय कमिटी गठन गरेर छानविन थालिएको हो।

 

बैठकले छानविन कमिटीको संयोजकमा एमाले जिल्ला कमिटि उपसचिव मोतिराज सुनुवारलाई जिम्मेवारी दिएको छ। समिति सदस्यद्वयमा जिल्ला कमिटी सदस्य केशव विष्ट र नन्दकुमार बस्नेत छन्। समितिले सात दिनभित्र घटनाबारे छानबीन गरी सत्यतथ्य सार्वजनिक गर्ने समिति संयोजक सुनुवारले बताए।


बिहीबार दिउसो इटहरी नगरपालिका परिसरमा एमालेकै पूर्व कार्यकर्ता देवीप्रसाद रेग्मीले झापड हानेका थिए।

 

एमाले अध्यक्ष झलनाथ खनाललाई एमालेकै पूर्वकार्यकर्ताले झापड हानेका थिए। ३ महिने संगठन सुदृढीकरण, व्यवस्थापन र सञ्चालन कार्यक्रम उद्‌घाटन गर्न इटहरी आइपुगेका खनाललाई सयौं कार्यकर्ता माझ सुनसरी भरौलका देवीप्रसाद रेग्मीले झापड हानेको जनाइएको छ।

 

झापड हान्ने रेग्मीले नेताले देश बिगारेका आफूमा आक्रोस बढेको र आवेगमा आएर खनाललाई झापड हानेको स्वीकारेका छन्।

 


घट्ना विवरण

मञ्च वरिपरि चार दर्जनभन्दा बढी सुरक्षाकर्मी तैनाथ थिए । एमालेको युवा दस्ता युथफोर्सका ५ दर्जन युवाहरु पनि स्वयम् सेवकका रुपमा मञ्चमाथि र वरिपरि बसेका थिए । मञ्चको मुख्य भागमा एमालेका अध्यक्ष झलनाथ खनाल उत्साहित मुद्रामा पार्टी प्रवेश गरेका नयाँ कार्यकर्तालाई रातो टिका लगाएर स्वागत गरिरहेका थिए ।

कांग्रेस, माओवादी र राप्रपाबाट तातीका ताती युवाहरु पार्टी प्रवेश गरिरहँदा मञ्चको अघिल्लो भागमा रहेका एमालेका ५ सय भन्दा बढी कार्यकर्ताहरु हुटिगं गर्दै तालि बजाईरहेका थिए । नयाँ कार्यकर्ता प्रवेशबाट उत्साहित खनाल, एमाले कोशी अञ्चल कमिटीका संयोजक राजेन्द्र गौतम, सचिव जीवन घिमिरे, सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीलगायत नेताहरु पनि प्रफुल्लित मुद्रामा थिए ।

नयाँ कार्यकर्ता प्रवेशको तेस्रो चरणका युवाहरुसंगै ऊनीको टोपी, कोट लगाएर एक व्यक्ति पनि मञ्चमा चढे । उमेर बृद्ध जस्तो देखिने उनी मञ्चमा देखिन साथ एमाले अध्यक्ष खनालले खुसी हुँदै हात मिलाए । हात मिलाइसकेपछि निधारमा रातो टिका लगाईदिन खोज्दा उनले टिका लगाउन अस्विकार गरे । टिका लगाइदिन खोज्दा खनालको हात पन्छाएका थिए ।

हात पन्छाएपछि खनालले दुवै हात तल झारेका थिए । त्यही मौका छोपेर ती व्यक्तिले मञ्चमा उभिरहेका खनालको देव्रे गालमा दाहिने हातले एक थप्पड हिर्काए । थप्पड खानसाथ खनाल झस्किएर पछाडी हटेका थिए । खनालको चश्मा पनि भुइमा झरेको थियो । चश्मा झर्दा खनालको दाहिनेपट्टीको नाकको डेढीमा खुन आउने गरि काटेको थियो ।

खनालको सुरक्षाका लागि मञ्चमै बसिरहेका उनका सुरक्षागार्ड मानराज बाँनिया पनि हेरेको हेर्यै भए । उनी पनि आत्तिदै खनाललाई कुट्ने ती व्यक्तिलाई थकेल्दै मञ्च बाहिर निकालेका थिए । खनालले सार्वनिक कार्यक्रममा सबैले देख्ने गरि थप्पड खाएपछि माहोल एकाएक तातिएको थियो ।

कार्यकर्ताको भीड ती कुट्ने व्यक्तितर्फ केन्द्रित भएको थियो । तत्काल प्रहरीको नियन्त्रणमा रहेका उनलाई नवप्रवेश तथा पुराना कार्यकर्ताहरुले कुटपिट गर्न थालेपछि प्रहरीलाई जोगाउन निकै हम्मे परेको थियो ।

प्रहरीको नियन्त्रणमा रहेका अवस्थामा ति ब्यक्तिले आफु सुनसरीकै भरौल १ निवासी देवीप्रसाद रेग्मी भएको बताए । किन थप्पड हान्नु भएको ? प्रश्न गर्दा उनले देशलाई बर्बादीतर्फ लगेकाले नेताहरुलाई सचेत गराउनका लागि अध्यक्ष खनाललाई थप्पड हानेको बताए । उनले आफूलाई कसैले पनि परिचालन नगरेको दावी गरे । आफ्नै स्वविवेकले हिर्काएको बताए ।