‘सरकारको योजना र आयोजनामा शक्तिखोरमा हुने कार्यक्रममा प्रधानसेनापति पनि सहभागी हुनुहुनेछ,’ सैनिक प्रवक्ता रमीन्द्र छेत्रीले कान्तिपुरसित भने । सेनापतिसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू क्रमशः रमेशचन्द ठकुरी, सनत बस्नेत र अशोकदेव भट्ट पनि त्यहाँ जाँदै छन् ।
प्रधानमन्त्री कार्यालयका सचिव धु्रव वाग्लेका अनुसार कार्यक्रममा उपसभामुख पूणर्ा सुवेदी, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, कांग्रेस सभापति सुशील कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, मधेसी फोरम अध्यक्ष उपेन्द्र यादव, फोरम लोकतान्त्रिक अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदार र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई पनि सहभागिताका लागि आग्रह गरिएको छ ।
‘विशेष समितिमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूलाई सहभागी गराउने योजनाअनुसार उहाँहरूलाई आमन्त्रण गरिएको हो,’ सचिव वाग्लेले भने । माओवादीका उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायत अधिकांश शीर्ष नेता कार्यक्रममा उपस्थित हुनेछन् । बिहान ११ बजे सुरु हुने कार्यक्रमको सञ्चालन माओवादी सैन्य इन्चार्ज वर्षमान पुनले गर्नेछन् ।
कार्यक्रमलाई प्रधानमन्त्री र माओवादी अध्यक्षले मात्र सम्बोधन गर्नेछन् भने माओवादी सेनाका कमान्डर नन्दकिशोर पुनले स्वागत मन्तव्य दिनेछन् । शिविरमा राष्ट्रिय झन्डा फहराइने र यससँगै लडाकु विधिवत् रूपमा मन्त्रिपरिषद्अन्तर्गतको विशेष समितिमातहत आउनेछन् ।
‘यो शान्ति प्रक्रियामा अर्को महत्त्वपूर्ण कदम हुनेछ । सरकार प्रमुखका साथै राज्यका सुरक्षाका साथै महत्त्वपूर्ण निकायका प्रमुख, प्रमुख दलका शीर्ष तथा शान्ति प्रक्रियामा सहभागी नेता उपस्थित हुने भएकाले हाम्रो सेनाले पनि राज्यको एउटा सुरक्षा अंगको रूपमा मान्यता पाउनेछ,’ सैन्य इन्चार्ज पुनले भने, ‘परिवर्तन, शान्ति प्रक्रिया र राष्ट्रिय स्वाधीनताप्रति हाम्रो सेनाको योगदानले वैधानिकता पाउनुका साथै योगदानको कदर हुनेछ ।’
सैन्य इन्चार्ज पुनले कार्यक्रममा माओवादी सेनाका लडाकुले अतिथिलाई सलामी दिने, मार्चपार्स, सैन्य अभ्यास र कौशलसमेत प्रस्तुत गर्ने जानकारी दिए । गृहमन्त्री भीम रावल, शान्तिमन्त्री रकम चेम्जोङ, विशेष समितिमा प्रतिनिधित्व गर्ने संस्कृतिमन्त्री मीनेन्द्र रिजाल, उद्योगमन्त्री महेन्द्र यादव, कांग्रेस नेता रामशरण महत, एमाले महासचिव ईश्वर पोखरेल, फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देव पनि कार्यक्रममा सहभागी हुनेछन् ।
मुख्यसचिव माधवप्रसाद घिमिरे, रक्षासचिव नवीन घिमिरे, गृहसचिव गोविन्द कुसुम र प्रधानमन्त्री कार्यालयबाट सचिव वाग्ले पनि कार्यक्रममा सहभागी हुँदै छन् । राष्ट्रसंघीय सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र अमेरिका, चीन, फ्रान्स, बेलायत, रसिया र छिमेकी मुलुक भारतका नेपालस्थित राजदूतलाई पनि आमन्त्रण गरिएको सचिव वाग्लेले जानकारी दिए । ‘यहाँस्थित राष्ट्रसंघीय नियोग र शान्ति प्रक्रियामा सहयोग गरेका संघ-संस्थाका प्रमुखलाई पनि आमन्त्रण गरिएको छ,’ उनले भने ।
विशेष समितिको सोमबार बसेको बैठकले कार्यक्रमलाई भव्य बनाउन गृहमन्त्री रावलको अध्यक्षतामा माओवादी नेता पुन र कांग्रेस नेता महत सम्मिलित तीन सदस्यीय समिति गठन गरेको थियो । राष्ट्रसंघीय मिसन अनमिनको समयावधि सकिनु एक दिनअघि गत शुक्रबार प्रधानमन्त्री र माओवादी अध्यक्षबीच शिविरलाई विशेष समितिमातहत ल्याउने र अनमिनको सम्पूर्ण जिम्मेवारी समितिले लिने सहमति भएको थियो ।



