वीर अस्पतालबाट प्रदान भइराखेका सेवा दिनप्रतिदिन खस्किदै गएको तथ्य पत्ता


 

काठमाडौँ –  काठमाडौंबाट प्राप्त समाचार अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालबाट प्रदान भइराखेका सेवा दिनप्रतिदिन खस्किदै गएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ ।


केन्द्रले अस्पतालबाट प्रदान भइराखेका सेवा खस्किरहेको एवम् प्रशासनिक अनियमिता भइराखेको भन्ने विभिन्न उजुरीका बारेमा गरेको स्थलगत अनुगमन तथा अध्ययनबाट सो तथ्य पत्ता लागेको हो ।


अध्ययन प्रतिवेदन सार्वजनिक गर्न केन्द्रद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा करारमा बढी कर्मचारी नियुक्ति गरेको, निजामती किताबखानाबाट तलबमान नै स्वीकृत नगरी  त्यस्ता कर्मचारीलाई तलब खुवाइरहेको जानकारी गराइयो ।


प्राविधिक कर्मचारीलाई प्राविधिक काममा नलगाई प्रशासनिक काममा लगाइएको, काजमा काम गर्ने कर्मचारीलाई अस्पतालले काममा लगाउन नसकेको र त्यस्ता कर्मचारीहरू हाजिर गरी हिंड्ने गरेको पाइएको केन्द्रले जनाएको छ ।
केन्द्रका प्रवक्ता अर्जुनप्रसाद खनालले हाल अस्पतालमा १५९ जना कर्मचारी करारमा रहेका, त्यस्ता कर्मचारीले स्थायी कर्मचारीसरह सेवासुविधा लिने गरेको पाइएको बताउनुभयो ।


अध्ययन प्रतिवेदनमा अस्पतालको कर्मचारी आवासगृहमा त्यहाँ कार्यरत आकस्मिक तथा रात्रीकालीन समयमा काम गर्ने कर्मचारीलाई पहिलो प्राथमिकता दिने मापदण्ड भए पनि यसको कार्यान्वयन नभएको, आवासगृह व्यवस्थापनले कुनै पनि अभिलेख स्पष्टरुपमा नराखेको, आवासगृहका कोठामा कुन कर्मचारी र तिनका के कति सदस्यहरू बसेका छन् भन्ने यकिन जानकारी नभएको उल्लेख गरिएको छ ।


वीर अस्पतालमा कार्यरत कुचिकारहरू आफ्नो कामप्रति जिम्मेवार नभई कानुन विपरित खेताला कुचिकार ल्याई काम गराउने गरेको प्रतिवेदनमा उल्लेख गर्दै अस्पतालमा कति विरामी भर्ना भए भन्ने यकिन अभिलेख नपाइएको उल्लेख गरिएको छ ।


प्रतिवेदनमा अस्पतालमा कार्यरत वरिष्ठ चिकित्सकहरू कार्यालय समयमा अस्पतालमा भेट्न मुस्किल परेको, सःशुल्क उपचारका लागि भरिने फारम पनि निःशुल्क भनेर उपचार गरिएको भेटिएको जनाइएको छ ।