प्रदर्शनकारीले इटहरीको चौरास्त चोकमा आधा घण्टासम्म चक्काजाम गरेका छन्। खनाल बिहीबार इटहरीमा पार्टीको तीन महिने वैचारिक, सांगठनिक र सुदृढिकरण अभियान कार्यक्रम उद्घाटन गर्न आएको बेला कार्यक्रम स्थलमै रेग्मीले झापड हानेका थिए।
घट्ना विवरण
मञ्च वरिपरि चार दर्जनभन्दा बढी सुरक्षाकर्मी तैनाथ थिए । एमालेको युवा दस्ता युथफोर्सका ५ दर्जन युवाहरु पनि स्वयम् सेवकका रुपमा मञ्चमाथि र वरिपरि बसेका थिए । मञ्चको मुख्य भागमा एमालेका अध्यक्ष झलनाथ खनाल उत्साहित मुद्रामा पार्टी प्रवेश गरेका नयाँ कार्यकर्तालाई रातो टिका लगाएर स्वागत गरिरहेका थिए ।
कांग्रेस, माओवादी र राप्रपाबाट तातीका ताती युवाहरु पार्टी प्रवेश गरिरहँदा मञ्चको अघिल्लो भागमा रहेका एमालेका ५ सय भन्दा बढी कार्यकर्ताहरु हुटिगं गर्दै तालि बजाईरहेका थिए । नयाँ कार्यकर्ता प्रवेशबाट उत्साहित खनाल, एमाले कोशी अञ्चल कमिटीका संयोजक राजेन्द्र गौतम, सचिव जीवन घिमिरे, सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीलगायत नेताहरु पनि प्रफुल्लित मुद्रामा थिए ।
नयाँ कार्यकर्ता प्रवेशको तेस्रो चरणका युवाहरुसंगै ऊनीको टोपी, कोट लगाएर एक व्यक्ति पनि मञ्चमा चढे । उमेर बृद्ध जस्तो देखिने उनी मञ्चमा देखिन साथ एमाले अध्यक्ष खनालले खुसी हुँदै हात मिलाए । हात मिलाइसकेपछि निधारमा रातो टिका लगाईदिन खोज्दा उनले टिका लगाउन अस्विकार गरे । टिका लगाइदिन खोज्दा खनालको हात पन्छाएका थिए ।
हात पन्छाएपछि खनालले दुवै हात तल झारेका थिए । त्यही मौका छोपेर ती व्यक्तिले मञ्चमा उभिरहेका खनालको देव्रे गालमा दाहिने हातले एक थप्पड हिर्काए । थप्पड खानसाथ खनाल झस्किएर पछाडी हटेका थिए । खनालको चश्मा पनि भुइमा झरेको थियो । चश्मा झर्दा खनालको दाहिनेपट्टीको नाकको डेढीमा खुन आउने गरि काटेको थियो ।
खनालको सुरक्षाका लागि मञ्चमै बसिरहेका उनका सुरक्षागार्ड मानराज बाँनिया पनि हेरेको हेर्यै भए । उनी पनि आत्तिदै खनाललाई कुट्ने ती व्यक्तिलाई थकेल्दै मञ्च बाहिर निकालेका थिए । खनालले सार्वनिक कार्यक्रममा सबैले देख्ने गरि थप्पड खाएपछि माहोल एकाएक तातिएको थियो ।
कार्यकर्ताको भीड ती कुट्ने व्यक्तितर्फ केन्द्रित भएको थियो । तत्काल प्रहरीको नियन्त्रणमा रहेका उनलाई नवप्रवेश तथा पुराना कार्यकर्ताहरुले कुटपिट गर्न थालेपछि प्रहरीलाई जोगाउन निकै हम्मे परेको थियो ।
प्रहरीको नियन्त्रणमा रहेका अवस्थामा ति ब्यक्तिले आफु सुनसरीकै भरौल १ निवासी देवीप्रसाद रेग्मी भएको बताए । किन थप्पड हान्नु भएको ? प्रश्न गर्दा उनले देशलाई बर्बादीतर्फ लगेकाले नेताहरुलाई सचेत गराउनका लागि अध्यक्ष खनाललाई थप्पड हानेको बताए । उनले आफूलाई कसैले पनि परिचालन नगरेको दावी गरे । आफ्नै स्वविवेकले हिर्काएको बताए ।



