पूर्वाञ्चल विश्वविद्यालय प्रशासनले आर्थिक अनियमिततामा संलग्न कर्मचारीलाई पदोन्नती गरेको भन्दै प्राध्यापक र कर्मचारीद्वारा काम वहिष्कार

विराटनगर – प्राप्त समाचार अनुसार   पूर्वाञ्चल विश्वविद्यालय प्रशासनले आर्थिक अनियमिततामा संलग्न कर्मचारीलाई पदोन्नती गरेको भन्दै प्राध्यापक र कर्मचारीले काम वहिष्कार गरेका छन् । नियम विपरीत कलेजलाई सम्बन्धन दिएर आर्थिक हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालायले छानबिन गरिरहेका ६ जना कर्मचारीलाई विश्वविद्यालयले पदोन्नती गरेको थियो ।

विश्वविद्यालय प्रशासनले बिहीबार ६ जना अधिकृत र तीनजना सहायक स्तरका कर्मचारीलाई माथिल्लो तहमा पदोन्नती गरेको र त्यसरी पदोन्नती हुने अधिकांश कर्मचारी विश्वविद्यालयको आर्थिक हिनामिनामा संलग्न रहेका र उनीहरु अख्तियार र शिक्षा मन्त्रालयको छानबिनको घेरमा रहेको संघर्ष समितिका संयोजक सन्जेश कोइरालाले वताए ।

उनीहरुले प्राध्यापक संघका सभापति कोइरालाको संयोजकत्वमा ५१ सदस्यीय संघर्ष समिति गठन गरेर शुक्रवारदेखि विश्वविद्यालय, परीक्षा कार्यलय र सवै आंगिक क्याम्पसको काम ठप्प गरेका छन् । समितीमा कार्यकारी परिषदका सभासदहरु पनि सदस्य छन् ।