– काभ्रेको उग्रचण्डी गाविसस्थित बुलेमा शुक्रबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा कम्तिमा तीन जनाको मृत्यु भएको छ । बनेपाबाट नालाटुकुचा जाँदै गरेको बा २ ख ११४२ नम्वरको यात्रुबाहक बस मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको प्रहरीले जनाएको छ
– काठमाडौंबाट प्राप्त समाचार अनुसार बनेपाबाट यात्रु लिएर काभ्रेको टुकुचानाला गाविस, घिमिरेगाउँतर्फ जाँदै गरेको बा २ ख ११४२ नम्बरको बस शुक्रबार साँझ उग्रचण्डी-४ को बुले भन्ने ठाउँमा पल्टँदा ३ यात्रुको मृत्यु भएको छ।
मृत्यु हुनेमा टुकुचानाला-७ का रामगोपाल घिमिरे, सोही गाविस-६ का साधुराम घिमिरे र गाउँमा मजदूरी गर्दै आएका १ यात्रु रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक सन्तोष तामाङले जानकारी दिए। मजदूरको थर तामाङ रहेको र नाम भने सनाखत हुन नसकेको उनले बताए।
बसमा यात्रारत मध्ये गम्भीर घाइते ७ जनालाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ। घाइतेमध्ये ८० जनाको शीर मेमोरियल अस्पताल, बनेपा र धुलिखेल अस्पतालमा उपचार हुँदै गरेको छ। घाइते हुनेहरुमा शनिबार विदा मनाउन गाउँ फर्कनेहरु र बनेपाबाट घर फर्कनेहरु रहेका छन्।
काभ्रे बस व्यवसायी संघका दुई वटा बस दैनिक रुपमा घिमिरेगाउँमा जाने गरेकोमा शुक्रबार एउटा बस बिहेको रिजर्भमा गएकोले बाँकी एउटा बस गएको प्रहरीले जानकारी दिएको छ। अघिल्लो बस चढ्ने यात्रु समेत चढेकाले बस भित्र र छतमा समेत गरी डेढसय जना यात्रारत थिए।
क्षमताभन्दा बढी यात्रु बोकेर गाउँ जाँदै गरेको उक्त बस टुकुचा नाला गाविसको ६ र ७ नम्बर वडाको सीमानाको कुले भन्ने ठाउँमा गाउँबाट झर्दै गरेको मोटरसाइकललाई साइड दिने क्रममा पल्टेको थियो।
गाउँमा जन्ती गएर फर्कँदै गरेको ३ वटा मोटरसाइकलले साइड च्यापेर आएपछि जोगाउने क्रममा बसचालकले ब्रेक हान्दा बस सडकछेउबाट ५० मीटर तल खसेको घटनास्थलबाट फर्केका प्रहरी निरीक्षक तामाङले जानकारी दिए।