विवरणअनुसार श्रेष्ठको लाजिम्पाटको खुसीटारमा चार आना जग्गामा बनेको साढे तीनतल्ला घर, निसान कार (दस हजार अमेरिकी डलरमा किनेको), १४ तोला सुन, तीनसय तोला चाँदी (करुवा, देउता), हिराको एउटा औंठी, एउटा टप लगायत छन्। यसमध्ये निसान कारको किस्ता छोरा सञ्जीव श्रेष्ठले तिर्दै आएको र बहुमुल्य धातुहरू श्रीमती र आफ्नो कमाइबाट किनेको उल्लेख छ।
श्रेष्ठको यो कदमलाई पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले सराहना गरेका छन्। ‘यसले अब आउने प्रधानन्यायाधीश र न्यायाधीशहरूलाई पनि आफ्नो सम्पत्ति सार्वजनिक गर्न दबाब पर्छ,’ शर्माले भने, ‘यस्तो परम्पराले भ्रष्टाचारमुक्त न्यायपालिका स्थापना गर्ने प्रयासमा बल पुर्याउँछ।’
न्यायाधीशहरू मात्रै भ्रष्टाचारमुक्त भए न्यायापालिकाको ६० प्रतिशत भ्रष्टाचार हट्ने बताउँदै आएका श्रेष्ठले त्यसको अभ्यास आफैंबाट सुरु गरेका हुन्। ‘यसअघि कुनै पनि प्रधानन्यायाधीश र अन्य न्यायाधीशले सम्पत्ति न्याय परिषद्को जानकारीमा बाहेक वेबसाइटमै राखेर सार्वजनिक गर्नुभएको थिएन,’ सर्वोच्च अदालतका सहप्रवक्ता हेमन्त रावलले भने, ‘न्यायपालिकालाई स्वतन्त्र र भ्रष्टाचारमुक्त बनाउन उहाँले यस्तो थालनी गर्नुभएको हुनसक्छ।’
दुई महिनाअघि प्रधानन्यायाधीश श्रेष्ठको निमन्त्रणामा नेपाल भ्रमणमा आएका रुसी प्रधानन्यायाधीश भ्याचेस्लाभ लेबेदेभले आफ्नो मुलुकमा प्रधानन्यायाधीश र न्यायाधीशहरूको सम्पत्ति सार्वजनिक गर्ने परम्परा भएको बताएका थिए।
न्यायिक पारदर्शिताका लागि रुसका प्रधानन्यायाधीश र न्यायाधीशले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने अभ्यास सुरु गरेको बताएलगत्तै आफू पनि सम्पत्ति सार्वजनिक गर्न इच्छुक भएको श्रेष्ठले सञ्चारकर्मीसँग जानकारी दिएका थिए। न्यायमूर्तिको सम्पत्ति सार्वजनिक गर्ने रुसी चलनलाई ‘अनुकरणीय’ भन्दै त्यसको थालनी आफैंबाट गर्ने बचनबद्धता उनले गरेका थिए।
लेभेदेभसँगको भेटपछि श्रेष्ठले भनेका थिए, ‘न्यायाधीशको सम्पत्ति सार्वजनिक गरी वेबसाइटमै राख्न म तयार छु। अरू न्यायाधीशलाई पनि अनुरोध गरेर नया” थालनी गर्ने कोशिस गर्छु।’
न्यायाधीशको कर्यसम्पादन मूल्यांकन गर्ने न्याय परिषद् अध्यक्षसमेत रहने श्रेष्ठले स्वतन्त्र न्यायपालिका र निष्पक्ष न्याय सम्पादनका लागि न्यायकर्मीको पारदर्शिता आवश्यक रहेको बताउँदै आएका छन्।



