सरकारद्बारा सेना समायोजनबारे राखेको प्रस्तावमा परिमार्जन हुने

काठमाडौं – काठमाडौंबाट  प्राप्त समाचार अनुसार  शान्ति तथा पुनर्निर्माण मन्त्री रकम चेम्जोङले माओवादी सेना समायोजनबारे सरकारले यसअघि नै प्रस्ताव राखिसकेको र अब त्यसमा परिमार्जन गरेर अघि बढिने बताएका छन्। उनले भने- सेना समायोजनको मोडालिटीबारे अहिले नै यसै भन्न सकिन्न, यसबारे विशेष समितिले निर्णय गर्नेछ ।

 

उनले समायोजनको मोडालिटी कस्तो हुने भन्नेबारे यही प्रस्तावका आधारमा विशेष समितिले निर्णय गर्ने जानकारी पनि दिए। शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा संवादाताहरुको जिज्ञासामा उनले यस्तो बताएका हुन।

माओवादी लडाकु विशेष समितिअन्तर्गत आएपछि अब कसरी अघि बढ्ने भन्नेबारे मन्त्रालयमा डाकिएको बैठक माओवादी अध्यक्ष पुष्पकमल दाहाल नआइपुगेकाले बस्न सकेन । बैठक नबसेर नेताहरु फर्कने क्रममा उनले यस्तो जानकारी दिएका हुन।

त्यसैगरी कङ्ग्रेस नेता सुशील कोइरालाले अब माओवादी सेना सरकारअन्तर्गत आएको र यो शान्ति प्रक्रियाका लागि महत्त्वपूर्ण कुरा भएको प्रतिक्रिया दिए। माओवादीले दुवै सेना आ-आफ्नो चेन अफ कमाण्डमा रहेको बताइरहेको छ नि भन्ने जिज्ञासामा उनले भने- कसले के भन्छ नसुन्नूस्, प्रधान मन्त्री र दाहालको स्टेटमेन्ट हेर्नूस्।

एमाले नेता वामदेव गौतमले भने अब माओवादीको सरकार बन्ने परिस्थिति बनेको हो भन्ने जिज्ञासामा अहिल्यै बताउन नसकिने प्रतिक्रिया दिए। बैठक नै बसेको छैन, अहिल्यै यसको र उसको नेतृत्वमा बन्छ भनेर कसरी भन्ने ? – उनको उत्तर थियो।

माओवादी अध्यक्ष माओवादी लडाकुलाई विशेष समितिअन्तर्गत ल्याउने कार्यक्रममा भाग लिन हिजो चितवनको शक्तिखोर पुगेमा नआइपुगेकाले बैठक बस्न नसकेको हो। बैठक अब भोलि बस्ने नेताहरुले जानकारी दिएका छन्।