मृतकको रकम रकम खाएको आरोप खेपिरहेका साउदी अरेबियास्थित राजदूत अन्सारीद्बारा अख्तियारलाई आवश्यक जानकारी उपलब्ध

काठमाडौ – काठमाडौंबाट  प्राप्त समाचार अनुसार   मृतक कामदारको क्षतिपूर्ति रकम निजी खातामा राखिएको अभियोगसहित स्पष्टीकरण खेपिरहेका साउदी अरेबियास्थित राजदूत हमिद अन्सारीले अख्तियारलाई ‘आवश्यक जानकारी’ उपलब्ध गराएका छन् ।

 ‘राजदूतले सोधिएको जानकारी दिनुभएको छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता ईश्वरीप्रसाद पौडेलले भने । पौडेलका अनुसार अख्तियारमा परराष्ट्र हेर्ने शाखाका अधिकारीले सोधेको जिज्ञासाको जवाफ अन्सारीले दिएका छन् । सडक दुर्घटनामा मृत्यु भएका झापाका रमेश सुवेदीको २० लाख रुपैयाँको क्षतिपूर्ति रकम आएको डेढ वर्ष बितिसक्दा पनि परराष्ट्र तथा सम्बद्ध परिवारलाई जानकारी नगराएकोबारे विवाद चर्कंदै गएपछि राजदूत अन्सारीमाथि स्पष्टीकरण मागिएको हो ।

राजदूत अन्सारीमाथि अभियोग लगाउँदै पीडित परिवारले परराष्ट्रमा उजुरी दिएपछि संसदीय समितिले पनि आवश्यक छानबिनका लागि निर्देशन दिएको थियो । अख्तियारले राजदूत अन्सारी र परराष्ट्र दुवैलाई ‘आवश्यक जानकारी गराउनका लागि’ पत्र पठाएकोमा अन्सारी आफैं उपस्थित भएर जानकारी दिएका छन्् ।

अर्कातिर मृतक कामदारको क्षतिपूर्ति रकम राजदूतले निजी खातामा राखेको बारे परराष्ट्र प्रशासनले सोधेको तेस्रो स्पष्टीकरणमा ‘क्षतिपूर्तिबापतको चेकलाई साटेर रकम सुरक्षित रूपमा राखिएको’ जवाफ अन्सारीले दिएका छन् । ‘राजदूत अन्सारी काठमाडौं आएका बेला उहाँले परराष्ट्रमा आएर दिने बयानका आधारमा सबै स्थिति स्पष्ट हुनेछ,’ परराष्ट्रका एक उच्च अधिकारीले भने ।