झापड हान्ने रेग्मीको विज्ञप्ति
झापड खाने खनालको विज्ञप्ति
काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले आफूलाई झापड हान्ने सुनसरी भरौलका देवीप्रसाद रेग्मीलाई माफी दिएका छन्। रेग्मी रिहा भएको अढाइ घण्टापछि प्रेस विज्ञप्ति जारी गर्दै खनालले एमाले र आफ्नोतर्फबाट समेत क्षमा गरेको बताएका हुन्।
‘म उहाँको बुद्धि सही दिशामा फर्कनेछ भन्ने आशमा थिएँ’, खनालको विज्ञप्तिमा भनिएको छ- ‘नभन्दै आज उहाँको हस्ताक्षर सहितको प्रेस विज्ञप्ति मेरो हातमा परेको छ।’ विज्ञप्तिमा रेग्मीले बुद्धि विवेक गुमाएर खनाललाई झापड लाएको उल्लेख गरिएकाले माफी दिएको उनले उल्लेख गरेका छन्।
गत बिहीबार रेग्मीले एमाले अध्यक्ष खनाललाई इटहरीमा झापड हानेका थिए।
एमाले अध्यक्ष खनाललाई झापड हान्ने देवीप्रसाद १ हजार रुपियाँ धरौटी लिएर एक महिने तारेखमा रिहा
इटहरीबाट प्राप्त समाचार अनुसार एमाले अध्यक्ष झलनाथ खनाललाई झापड हान्ने सुनसरी भरौलका देवीप्रसाद रेग्मी सोमबार छुटेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी रामप्रसाद थपलियाले १ हजार रुपियाँ धरौटी लिएर एक महिने तारेखमा उनलाई छाडेका हुन्।
थपलियाले रेग्मीसित बयान लिँदा खनाललाई झापड हानेकामा आत्माआलोलना गरेकाले छाडेको जानकारी दिए। खनाललाई पार्टीको कामको सिलसिलमा बिहीबार इटहरी आएको समयमा रेग्मीले सयौं कार्यकर्ता र सुरक्षाकर्मीमाझ झापड हानेका थिए।
उनले झापड हानेपछि एमाले सुनसरी जिल्ला कार्यालय सचिव गोबिन्द कार्कीले रेग्मीबिरुद्ध सार्वजनिक अपराध ऐनअन्तर्गत मुद्दा दायर गरेका थिए।