दुर्घटनापछि उत्पन्न विवादको विषयलाई लिएर मेची कोसीमा सार्वजनिक यातायात ठप्प

विराटनगर – नेपाली संचारमाध्यमहरुमा उल्लेख गरिए अनुसार दुर्घटनापछि उत्पन्न विवादको विषयलाई लिएर मंगलबार बिहानदेखि मेची कोसीमा सार्वजनिक यातायात ठप्प भएको छ । दुर्घटनामा मृत्यु भएकाका लागि गठित संघर्ष समिति, यातायात व्यवसायी र प्रहरीबीच कुरा नमिल्दा व्यासायी र मजदुरले यातायात अनिश्चितकालीन हड्ताल गरेका हुन् ।

गत पुस १६ गते झापाको हडिया बुधबारेमा इलामबाट फिर्दै गरेको बा १ ख ९७१७ नम्बरको मिनि बसको ठक्करबाट स्थानीय साइकलयात्री दुर्गाप्रसाद पोखरेलको मृत्यु भएको थियो ।

घटनापछि समस्याको निकास खोज्नु भन्दा आफूहरूलाई प्रहरीले अपमानजनक व्यवहार गरेको भन्दै यातायात व्यवसायीले चक्काजाम गरेका हुन् । उता, पोखरेलको मृत्युपछि गठित संघर्ष समितिले भने छलफलबाट समाधान हुने बेला यातायात व्यवसायी संघले कुरा अन्तै मोडेर अतिरञ्जित पारेको दावी गरेको छ ।

सार्वजनिक सेवाका बस, मिनि बसलगायतका सवारी अचानक ठप्प पारिंदा लामो तथा छोटो दूरिका यात्रु प्रभावित भएका छन् ।