राजविराज – प्राप्त समाचार अनुसार पुनर्गठीत माओवादीका संयोजक मातृका यादवले विद्रोहको नाममा माओवादीले जनतामा भ्रम र अन्यौलता थपिएको बताएका छन् ।
सगरमाथा-जनकपुर ब्यूरोका कार्यकर्ताहरुको प्रशिक्षणपछि बुधबार सप्तरीको बसविट्टी गाविसस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा आयोजित पत्रकार सम्मेलनमा संयोजक यादवले माओवादीको सत्ता लिप्सा र मधेसबादी दलहरुको सत्ता मोहका कारण मुलुक जटिलतामा फसेको आरोप लगाए ।
१० बर्षे जनयुद्धका नेतृत्व गर्ने पुष्पकमल दाहाल, बाबुराम भट्टराई सत्ताको लोभमा फसेकाले नेपाली जनताको मुक्तिकालागि फेरि आन्दोलन गर्नुपर्ने घाराणा उनको थियो । तपाईहरुको आन्दोलन सशस्त्र हुने कि ? भनि संचारकर्मीहरुको जिज्ञासामा उनले भने, १० बर्षे जनयुद्धको उपलब्धि बचाउन तत्काल शान्तिपुर्ण संघर्ष गर्ने छु तर, शाषकहरुले दमन गरे हाम्रो आन्दोलन सशस्त्र हुनेछ ।’
मधेसमा सशस्त्र संघर्ष गरिरहेका गोईत लगायतका सशस्त्र समुह संगको कार्यगत एकताबारे संयोजक यादवले भने, ‘तराई छुट्टै राज्य हुनुपर्छ भनि गोइतजीको लाइन संग माओवादी पार्टी सहमत छैन ।’ तर, आत्म निर्णयको अधिकार सहित स्वशासित राज्यको तत्कालिन लक्ष्य लिएर संगै काम गरौ भनि गोइतजीलाई पटक पटक आग्र आफुले गरेको संयोजक यादवले स्वीकार गरे । हाम्रो आग्रहलाई गोईत लगायतक सशस्त्र समुहले स्वीकार नगरेकाले तत्काल मधेसका सशस्त्र समुह संग सहकार्यको सम्भवाना नरहेको उनको भनाई थियो ।



