राष्ट्रपति डा यादव गणतन्त्र भारतको १० दिने औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ – राष्ट्रपति डा रामवरण यादव गणतन्त्र भारतको १० दिने औपचारिक भ्रमणका लागि बिहीबार भारतको कोलकाता जाँदै हुनुहुन्छ ।राजधानी नयाँदिल्ली पुग्नुअघि उहाँको कोलकाता र तिरुपतिको भ्रमण गर्ने कार्यक्रम छ ।

कोलकातामा राष्ट्रपति डा यादव कोलकाता मेडिकल कलेजको माघ १४ गते स्थापना दिवसमा सहभागी हुनुहुनेछ ।

 

राष्ट्रपति डा यादव सन् १९६० को दशकमा सो कलेजको विद्यार्थी हुनुहुन्थ्यो । सोही दिन उहाँ पश्चिम बङ्गालका गभर्नरले उहाँको सम्मानमा दिइने रात्रिभोजमा सरिक हुनुहुनेछ ।


राष्ट्रपति डा यादवले माघ १५ गते शान्ति निकेतनको भ्रमण गर्नुहुनेछ । उहाँ माघ १६ गते तिरुपतिका लागि प्रस्थान गर्नुहुनेछ भने माघ १७ गते नयाँदिल्ली पुग्नुहुनेछ ।


नयाँदिल्लीमा राष्ट्रपति डा यादवको स्वागतार्थ भारतीय राष्ट्रपति प्रतिभादेवीसिंह  पाटिलले रात्रिभोजको आयोजना गर्नुहुनेछ  र उहाँहरुबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।


भारतीय उपराष्ट्रपति मोहमद हमिद अन्सारीले राष्ट्रपति डा यादवसँग भेट गर्ने कार्यक्रम पनि छ ।


राष्ट्रपति डा यादवले भारतीय प्रधानमन्त्री डा मनमोहन सिंहसँग भेट गर्ने कार्यक्रम छ ।


त्यसैगरी काँग्रेस अध्यक्ष तथा संयुक्त प्रगतिशील गठबन्धनका अध्यक्ष सोनिया गान्धी, विभिन्न केन्द्रीय मन्त्री, भारतका दुवै सदनका विपक्षी नेता र अन्य विशिष्ट राजनीतिक नेताले उहाँसँग नयाँदिल्लीमा भेटघाट गर्नुहुनेछ ।
राष्ट्रपति डा यादवले चण्डिगढस्थित पोस्ट ग्राजुएट इन्ष्टीच्युट अफ मेडिकल एन्ड रिसर्चमा भ्रमण गर्नुहुनेछ । त्यहाँ हुने दीक्षान्त समारोहमा उहाँ प्रमुख अतिथि हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।


राष्ट्रपति डा यादवले सन् १८८४/८५ मा सोही इन्टिच्यूटबाट स्नातकोत्तर गर्नुभएको थियो । उहाँ यही माघ २२ गते स्वदेश फर्कनुहुनेछ ।


राष्ट्रपतिका डा यादवका साथ उहाँकी सुपुत्री अनिता, मन्त्री डा मीनेन्द्र रिजाल, राष्ट्रपतिका राजनीतिक सल्लाहकार हरि शर्मा, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका सचिव तथा अन्य वरिष्ठ अधिकारी पनि संलग्न हुनुहुनेछ ।