नेपालमै पहिलो पटक घुंडाको जोर्नी फेर्ने शल्यक्रिया धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु

धरान – धरानबाट अर्घाखाँचीडट्कमलाई प्राप्त पछिल्लो स्वास्थ्य सम्बन्धी समाचार अनुसार  धरानको बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिहीबार देखि मुलुकमै पहिलो पटक घुंडाको जोर्नी फेर्ने शल्यक्रिया सुरु भएको छ । प्रतिष्ठानको हाडजोर्नी विभागले भारतको एपोलो अस्पतालका हाडजोर्नी विषेशज्ञको सहयोगमा घुंडाको हाडजोर्नीको शल्यक्रिया सुरु गरेको हो ।

 एपोलो अस्पतालमा घुंडाको हाडजोर्नी शल्यक्रिया गर्न सिकेर आएका प्रतिष्ठानका चिकित्सक पशुपति चौधरीले विभिन्न कारणले घुंडाको हाडजोर्नी खिएर काम नलाग्ने अवस्थामा पुगेका विरामीको उपचार गर्न अब देखि विदेश जानु नपर्ने बताए । प्रतिष्ठानले घुंडाको हाडजोर्नी शल्यक्रिया सेवालाई नियमित बनाउने भएको छ ।

घुंडाको हाडजोर्नी शल्यक्रिया गर्ने प्रविधि र सुविधान मुलुकमै नभएकाले आर्थिक हैसियत उच्च भएका बिरामीहरु मात्र भारत र सिंगापुरका अस्पताल जाने गरेका छन् । हाडजोर्नी शल्यचिकित्सक डा. चौधरीका अनुसार बिपि प्रतिष्ठानको हाडजोर्नी विभागमा उपचारका लागि दैनिक आउने डेढसय बिरामी मध्ये ४० प्रतिशतमा घुंडाको हाडजोर्नी खिएको समस्या देखिएको बताए । उनका अनुसार ती मध्ये २५ प्रतिशतको घुंडाको जोर्नी फेर्नु पर्ने अवस्थामा उपचारका लागि आउने गरेका छन् । आर्थिक हैसियत नभएका बिरामीले भने घुंडामा कृतिम जोर्नी फेर्न नसकेर शारीरिक अपाङ्ग भएर बस्नु पर्ने अवस्था रहेकोले राज्यले पनि सहयोग गर्नु पर्ने चिकित्सकहरुले बताए ।

घुंडाको हाडजोर्नी फेर्नको लागि भारतका अस्पतालमा पाँच लाख रुपैयाँ लाग्ने र सिंगापुररमा झन् महंगो पर्ने तर प्रतिष्ठानमा भने अधिकतम एक लाख देखि डेढलाख रुपैयाँ सम्ममात्र लाग्ने डा. चौधरीले बताए । उनले बुढ्यौलीको कारण र अन्य विभिन्न कारणले घुंडाको हड्डी खिइने बताए ।