प्रधानमन्त्री नेपालद्वारा कामचलाउ मन्त्रिपरिषद् हेरफेर, तमलोपा मन्त्रीहरुको राजीनामा अस्वीकृत

काठमाडौं — काठमाडौंबाट अर्घाखाँचीडट्कमलाई प्राप्त समाचार अनुसार प्रधानमन्त्री माधवकुमार नेपालले कामचलाउ मन्त्रिपरिषद् बिहीबार हेरफेर गरेका छन् । बिभाजनपछि बनेको तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका मन्त्रीहरुलाई एमालेका मन्त्रीहरुसँग साटफेर गरिएको छ ।

उद्योग मन्त्री महेन्द्र यादवलाई सामान्य प्रशासन मन्त्रालय र सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिइएको छ । यसैगरी उद्योग राज्यमन्त्री दानबहादुर चौधरीलाई सामान्य प्रशासन र सामान्य प्रशासन राज्यमन्त्री जितु गौतमलाई उद्योग मन्त्रालय पठाइएको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले  जानकारी दिए ।

मन्त्री यादव र चौधरी नवगठीत तमलोपा नेपालमा छन् । प्रधानमन्त्री नेपालले उनीहरुलाई हटाउन नमानेको भन्दै तमलोपाले आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो । तर प्रधानमन्त्री नेपालले बाम-लोकतान्त्रिक गठबन्धनलाई तोड्न नमिल्ने भन्दै राजीनामा स्वीकृत नगरेको जानकारी गराएका छन् ।