काठमाडौ – संचारमाध्यमहरुमा उल्लेख भए अनुसार एमाले अध्यक्ष झलनाथ खनालले पार्टी नीतिविपरीत ‘शान्ति र संविधान निर्माण नभए जेठ १४ पछि एमालेले पनि जनविद्रोह गर्छ’ अभिव्यक्ति दिएको भन्दै उनीविरुद्घ केन्द्रीय अनुशासन आयोगमा उजुरी परेको छ ।
पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य विदुरप्रसाद सापकोटाले अध्यक्षमाथि अनुशासनको कारबाही माग गर्दै उजुरी दिएका हुन् । गत माघ ५ गते पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्थानीय विकास तथा भौतिक पूर्वाधार विभागको कार्यक्रममा जनविद्रोह गर्ने भन्दै दिएको अभिव्यक्ति सञ्चारमाध्यममा सार्वजनिक भएको उल्लेख गर्दै सापकोटाले त्यसैको आधारमा उजुरी गरेका हुन् । अध्यक्षको अभिव्यक्ति केन्द्रीय कमिटीको पाँचौं बैठकबाट पारित विशेष प्रस्तावअनुकूल नभएको उजुरीमा उल्लेख छ ।



