नयाँ संविधान जारी हुन नसके मुलुकमा भयङ्कर दुर्घटना हुने र त्यस दुर्घटनालाई दलहरुले रोक्न नसक्ने

धादिङ्ग – धादिङ्गबाट प्राप्त समाचार अनुसार एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले जेठ १४ गते सम्म नयाँ संविधान जारी हुन नसके मुलुकमा भयङ्कर दुर्घटना हुने र त्यस दुर्घटनालाई राजनीतिक दलहरुले रोक्न नसक्ने चेतावनी दिनु भएको छ ।


धादिङ्गको मैदीमा रहेको संस्कृति साधारण उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्वस समारोहमा सहभागी हुन पुग्नु भएका उपाध्यक्ष भट्टराईले त्यस्को संकेत नेपाली जनताले झापडको रुपमा ब्यक्त गर्न थालिसकेको दावी गर्नुभयो । उहाँले भन्नुभयो -नेपाली जनताले नेताहरुमाथि झापड हानेर त्यस्तो दुर्घटनाको संकेत गरिरहेका छन् । शान्ति र संविधानलाई सुनिश्चत गर्न सकिएन भने जे पनि हुन सक्छ ।


मुलुकमा शान्ति र संविधानलाई समयमै तार्किक परिणतीमा पुर्याउन सहमतिको राष्ट्रिय संयूक्त सरकारको विकल्प नभएको मा जोड दिदै त्यसकोलागी सबै आधारमा माओवादी नेतृत्वको विकल्प नभएको दावी गर्नुभयो । उहाँले संविधानसभाको सबैभन्दा ठूलो दल, शान्ति प्रक्रियाको आधा हिस्सा भएको कारणले पनि माओवादी नेतृत्वको विकल्प नभएको बताउनुभयो ।


माओवादीलाई आफ्नो प्रयासमा ल्याएको संविधानसभाको आफ्नो बच्चा जत्तिकै माया भएको भन्दै भट्टराईले माओवादी नेतृत्वको सरकार बन्ने बेलामा काग्रेस र एमालेले बारम्बार सर्त अगाडि सारेर भाजो हाल्ने काम गरेकोले उनीहरु संविधानसभा विघठन गर्न लागेको आशंका समेत बढ्न थालेको आरोप लागाउनु भयो । उहाँले भन्नुभयो-सुडेनी भन्दा आमालाई बच्चाको माया भए जस्तै माओवादीलाई संविधानसभाको माया छ । कुनै पनि हालतमा हामि त्यसलाई विघठन हुन दिदैनौ ।


उहाँले आफूहरुलाई कुनै पनि  सर्त मन्जुर नहुने समेत समारोहलाई संबोधन गर्दै स्पष्ट पार्नुभयो ।


माओवादी शान्ति र संविधानलाई सुनिश्चित गर्न प्रतिबद्ध रहेको भन्दै उहाँले जेठ १४ गते भित्रमै संविधान निर्माण गर्ने हिसाबले आफूहरुले प्रयास गर्ने त्यसो नभए जनताले अधिकारको रक्षाकोलागी ठूलो आन्दोलन गर्ने बताउनुभयो ।

कार्यक्रममा सो विद्यालयका पूर्व विद्यार्थी र सहयोग दाताहरुलाई भट्टराईले दोसल्ला अढाएर सम्मान गर्नु भएको थियो । पूर्व विद्यार्थीको तर्फबाट सम्मानित रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले  मुलुकमा सहमतिको विकल्प नभएको भन्दै अहिले नेतृत्वको हानाथाप गर्नु भन्दा पनि नेपाली जनताले चाहे अनुसारको शान्ति स्थापना र नयाँ संविधान लेखनको कार्यमा दलहरु मिलेर अगाडि बढनु पर्ने सुझाव दिनुभयो । उहाँले जसको नेतृत्वमा सरकार बने पनि सहमतिको आधारमै बन्नु पर्ने भन्दै सहमतिकोलागी सन्चारकर्मीहरुले दवावमुलक अभियान सन्चालन गर्नु पर्ने बताउनुभयो ।


लामो समयदेखि संस्कृत अध्यापन गर्दै आएको सो विद्यालयले हालका केही बर्ष देखि भने अन्य विषयहरुमा पनि अध्यापन कार्यको सुरुवात गरको छ । कार्यक्रमा नेकपा एमालेका बैकल्पिक पोलिटब्यूरो सदस्य गंगाधर तुलाधर, सभासद पुष्पविक्रम मल्ल, कल्पना धमाल, काग्रेस धादिङ्ग सभापति रामनाथ अधिकारी,  एमाले अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी, माओवादी नेता शेरबहादुर भण्डारी, काग्रेस नेता रमेश धमला, उच्चमावीका प्राचार्य पौषप्रसाद तिवारी, सन्चालक समितिका सभापति अर्जुन शाहीलगायतकाले  विद्यालयको प्रगतिको कामना सहित स्वर्ण महोत्सव सम्म आई पुगेकोमा बधाई ज्ञापन गर्नु भएको थियो ।