खाँदबारीमा कार्यकारी अधिकृतमाथि हातपात भएको विरोधमा कर्मचारीहरुद्वारा कामकाज ठप्प

उदयपुर – समाचारमा उल्लेख भए अनुसार संखुवासभाको खाँदबारी नगरपालिकाका कार्यकारी अधिकृतमाथि हातपात भएको विरोधमा सोमबार दिनभरि त्रियुगा नगरपालिकाका कर्मचारीहरुले कामकाज ठप्प पारेका छन्।
 
कार्यालय आउँदै गरेका अधिकृत कुमारबहादुर रेग्मीमाथि हातपात गर्नेलाई कारबाही र कर्मचारीको सुरक्षाको माग गर्दै नगरपालिकाको कामकाज ठप्प पारेको कर्मचारीरले बताए।

जिल्लाबाहिरबाट कार्यालय आउँदै गरेका अधिकृत रेग्मीमाथि तुम्लिङटारबासीले बाटैमा रोकेर अभद्र ब्यवहार गर्नुका साथै हातपातसमेत गरेका थिए। यस्ता घट्नाले कर्मचारी असुरक्षित भएको भन्दै विरोधस्वरुप कामकामज ठप्प पारेको त्रियुगा नगरपालिकाका कर्मचारी दिलिप श्रेष्ठले बताए। 

कर्मचारीले भयरहित कामकाज गर्न सुरक्षित वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। नगरपालिका स्थानीय निकाय कर्मचारी संघले दोषीलाई तत्काल कारबाही नभए सशक्त संघर्ष गर्ने चेतावनी दिएको छ। ‘आक्रमणकारीमाथि तत्काल कारबाही हुनुपर्छ’ संघका अध्यक्ष गुरु ढकालले भने, ‘नत्र आफ्नो सुरक्षाका लागि सशक्त आन्दोलन गर्नुको विकल्प हामीसँग रहने छैन।’

दिनभरि नगरपालिका बन्द भएपछि कार्यालयको काम लिएर टाढाटाढाबाट आएका नगरबासीहरु रित्तो हात फर्कनुपरेको थियो। छोरीको नागरिक्ता बनाउन सिफारिस लिन आएका १७ नं वडाका स्थानीय ध्रुव बस्नेले भने, ‘तीनघण्टा लगाएर त्यति टाढाबाट आएँ कार्यालय बन्द भएकाले रित्तो फर्कनुपर्‍यो।’