काठमाडौ – समाचार विवरण अनुसार सहमतीय सरकार निर्मण गर्ने दलहरुको प्रयास करिब समाप्त भएपछि प्रधानमन्त्री निर्वाचनको उम्मेद्वारी सम्बन्धमा निर्णय गर्न मंगलबार एमाले केन्द्रीय समितिको बैठक बस्दैछ ।
बैठकले पार्टीको तर्फबाट उम्मेद्वारी दिने/नदिने वा कसलाई समर्थन गर्ने भन्ने निर्णय गर्नेछ । प्रधानमन्त्री निर्वाचनका लागि संसदमा बुधबार उम्मेद्वारी दर्ता गर्ने कार्यक्रम छ । नेताहरुका अनुसार, कुनै अर्को दललाई समर्थन गर्ने भन्दा पनि बहुमतीयकै लागि उम्मेद्वारी दिने निर्णय हुने बलियो संभावना छ । त्यस्तो अवस्थामा पार्टीको तर्फबाट अध्यक्ष झलनाथ खनाल नै उम्मेद्वार बन्ने करिब निश्चित जस्तै छ ।
तर नेपाल र ओली पक्षका केन्द्रिय सदस्यहले भने सहमति नभएको अवस्थामा बहुमतीय सरकारका लागि फेरी एमालेले दाबी गर्न नहुने धारणा बैठकमा राख्ने तयारी गरेका छन् ।
‘अहिलेकै गठबन्धन कायम राख्नुपर्छ, त्यसका लागि नैतिक रुपमा काग्रेसलाई समर्थन गरेर जानुपर्छ हामीले नेतृत्व दाबी गर्न मिल्दैन’ ओली निकट एक केन्द्रिय सदस्यले भने, ‘आफ्नो बुहमतको सरकार हुदाहुदै फेरी पनि बहुमतीयकै लागि दाबी गर्नुहुदैन, फेरी सहमतीय सकारका लागि भन्दै छ महिना तटस्थ बसेपछि बहुमतीयका लागि उम्मेद्वारी दिन कति जायज हुन्छ -‘
तर पार्टीको यसअघिको केन्द्रीय समिति बैठकले सहमती नजुटेको अवस्थामा अन्य विकल्पबाट भए पनि सरकार निर्मण गर्न सकिने निर्णय गरिसकेको छ । नेताहरुका अनुसार मंगलबारको बैठकले खनालले प्रधानमन्त्री निर्वाचनका लागि उम्मेद्वारी दिने, उम्मेद्वारी दिएपछि पनि कुनै दलको नेताको नाममा राष्ट्रिय सहमति जुट्ने अवस्था देखिए फिर्ता लिएर सहयोग गर्ने लगायतका निर्णय गर्ने संभावना छ ।



