इजिप्टमा फैलिएको राजनीतिक विद्रोह नियन्त्रणबाहिर गएपछि कायरोस्थित नेपाली दूतावासलाई ‘आवश्यक परे बन्द गर्न’ नेपाल सरकारद्वारा निर्देशन


 

– समाचारमा उल्लेख भए अनुसार उत्तर अफ्रिकी मुलुक इजिप्टमा सातायता फैलिएको राजनीतिक विद्रोह नियन्त्रणबाहिर गएपछि कायरोस्थित नेपाली दूतावासलाई ‘आवश्यक परे बन्द गर्न’ नेपाल सरकारले निर्देशन दिएको छ ।

कायरोस्थित भारतीय, अमेरिकी, चिनियाँ, इजरायलीलगायत कूटनीतिक नियोगहरू बन्द हुनेक्रम बढ्दै गएपछि र ‘अत्यावश्यक’ बाहेकका कूटनीतिक कर्मचारीसमेत फिर्ता हुन थालेपछि परराष्ट्र मन्त्रालयले सोमबार ‘आवश्यक परेमा दूतावास बन्द गर्नू’ भन्ने निर्देशन दिएको हो । ‘स्थिति निकै तनावग्रस्त छ, दूतावासमा खटिएका प्रहरी शनिबारयता सुरक्षामा आएका छैनन्,’ कायरोस्थित दूतावासका प्रथम सचिव तीर्थराज अर्यालले भने । दूतावासको आवासमै आफ्नो बसोबास रहेकाले ‘बाध्यकारी कामकारबाही’ सञ्चालन भए पनि इन्टरनेट सेवा तथा अन्य बाह्य सम्पर्कसमेत अहिले विच्छेद भइसकेको अर्यालले बताए ।

इजिप्टमा चार सयभन्दा बढी नेपालीमा झन्डै दुई सय घरेलु कामदार, एक सय ५० गार्मेन्ट कामदार, ५० जना विद्यार्थीसहित अन्य कुक, हेल्पर रहेका छन् । यीमध्ये ५० विद्यार्थी स्थानीय इस्लामिक अध्ययन केन्द्र अलजार युनिभर्सिटीमा अध्ययनरत छन् । इजिप्टमा अदक्ष कामदारले प्रवेश नपाउने भएकाले ‘हाउसमेड’ का रूपमा जानेहरू ‘फ्याक्ट्री वर्कर’ भिसामा त्यहाँ पुगेका छन् । ‘हामी सबैसँग निरन्तर सम्पर्कमा छौं,’ अर्यालले भने, ‘सबैलाई आफ्नो क्षेत्र, परिसरबाट बाहिर ननिस्कन आग्रह गरेका छौं ।’ राष्ट्रपति होस्नी मुबारकको ३० वर्षे शासनविरुद्ध एक साताअघि आन्दोलन सुरु हुनासाथ त्यहाँको आन्तरिक मामिला मन्त्रालयले ‘जरुरी सम्पर्क नम्बर’ भनेर दूतावासहरूलाई उपलब्ध गराए पनि ती नम्बरमा सम्पर्क हुन छाडेको उनले बताए ।

विद्रोहको सातांै दिनमा मंगलबार इजिप्टमा आमहडताल रहेकाले र स्थिति अझ तनावग्रस्त बन्ने देखिएकाले ‘आवश्यक परेमा दूतावास बन्द गर्नू’ भन्ने निर्देशन दिएको परराष्ट्रका सहप्रवक्ता हरिश्चन्द्र घिमिरेले बताए ।

‘कूटनीतिक कर्मचारीलाई सुरक्षित अवस्थामा रहन निर्देश गरेका छौं,’ घिमिरेले भने । कायरो नियोगमा राजदूत श्यामलाल ताबेदार तथा प्रथम सचिव अर्याल दुईजना कूटनीतिक कर्मचारी छन् । अन्य भने स्थानीय कर्मचारी छन् । विद्रोहमा मंगलबारसम्म १ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भएको र प्रमुख विदेशी निकायहरूले ‘राष्ट्रिय संकट’ भन्दै कर्मचारी फिर्ता गर्न थालेकाले नेपाली दूतावासलाई दक्षिण एसियाली भारत, श्रीलंका, पाकिस्तान, बंगालादेशसहितका नियोगसँग निरन्तर सम्पर्कमा रहनसमेत निर्देश गरिएको छ ।    

‘यहाँ दिनमा भन्दा रातमा बढी खतरा छ, घरको बाहिरी गेटमा आन्दोलन गर्नेहरू थुपि्रएका हुन्छन्,’ इजिप्टको सिअक्टोबरमा घरेलु कामदार रहेकी पोखराकी टीकामाया आलेले  भनिन्, ‘हामीलाई सर/मेडमले घर बाहिर जान नदिने भएकाले हामी घरभित्रै हुन्छौं ।’ साढे तीन वर्षदेखि इजिप्टमा हाउसमेड काममा गएकी टीकामायाले एउटै घरमा चारजना नेपाली युवती कार्यरत रहेको बताइन् । कायरोकै एउटा भारतीय रेस्टुराँमा कार्यरत गुल्मीका गोपाल रानाले पनि स्थानीय सबै रेस्टुराँ बन्द भइसकेको जानकारी दिए । ‘यो कम्पनीभित्रको रेस्टुराँ भएकाले हामीभित्रै कार्यरत हुन्छौं तर बजारमा खानपिनका सामान पाउन छाडेको छ । हालत खराब छ,’ उनले भने ।

इजिप्टस्थित नेपाली नियोगले अल्जेरिया, इथियोपिया, लेबनान, लिब्या, मोरक्को, नाइजेरिया, सिरिया र ट्युनिसियाको कूटनीतिक मामिलासहित सहप्रमाणीकरण हेर्दै आएको छ । पाँच वर्षअघि पश्चिम एसियाली मुलुक लेबनानमा आन्तरिक हिंसा भड्कँदा त्यहाँ रहेका हजारभन्दा बढी नेपालीलाई भारत सरकारको सहयोगमा सरकारले फिर्ता ल्याएको थियो ।