राष्ट्रपति डाक्टर रामवरण यादव दिल्ली भेटवार्तामा व्यस्त

नयाँ दिल्ली – भारतको औपचारिक भ्रमणमा रहनु भएका राष्ट्रपति डाक्टर रामवरण यादव र कांग्रेस आईका वरिष्ठ नेता डाक्टर करण सिंहबीच गए राति गोप्य भेटवार्ता भएको छ ।


राष्ट्रपति यादव रहनु भएको मौर्या होटलमा मध्य रातमा पत्रकारहरुको अनुपस्थितीमा भएको वार्तामा डाक्टर सिंहले माओवादीलाई राजनीतिक मुलधारबाट नअल्ग्याई संविधान निमार्ण कार्यलाई पुर्णता दिन सल्लाह दिनु भएको थियो । जवाफमा राष्ट्रपति यादवले आफुले दलहरुलाई बारम्बार थपिएको समयमा संविधान बनाउन सचेत गराएपनि उनीहरु उदासीन देखिएको बताउनु भएको थियो ।


नेपालमा राजालाई पदबाट हटाउनका लागि कांग्रेस आईका अध्यक्ष सोनिया गान्धीका दुतका रुपमा डाक्टर करण सिंह नै काठमाडौ आउनु भएको थियो । नेपाली राजनीतिलाई निकै नजिकबाट चिन्ने क्षमता राख्ने डाक्टर सिंह श्रीमती गान्धीसँगै प्रधानमन्त्री मनमोहन सिंहका पनि विश्वासपात्र हुनुहुन्छ । यसैबीच नेपालका राष्ट्रपति डाक्टर रामवरण यादव भारत भ्रमणमा आएपनि दिल्लीबाट प्रकाशित भएका कुनै पनि दैनिक अखबारले उहाँको भ्रमणको समाचार छापेका छैनन् ।

 

बुधबार राष्ट्रपतिले भारतीय समकक्षी, प्रधामन्त्री र कँग्रेस अध्यक्ष सोनिया गान्धीसँग भेट्ने कार्यक्रम छ ।