माओवादीले संविधानसभामा रहेका मधेसवादी र साना दलसँगको मतलाई आफ्नो पक्षमा तान्न छलफल गर्ने

काठमाडौ – प्राप्त समाचार अनुसार एकीकृत नेकपा माओवादीले आज संविधानसभामा रहेका विभिन्न दलसँग छलफल गर्ने भएको छ । माओवादीले संविधानसभामा रहेका मधेसवादी र साना दलसँगको मतलाई आफ्नो पक्षमा तान्न छलफल गर्ने भएको हो ।


भोलि हुने चुनावमा परिणाम आफ्नो पक्षमा ल्याउन सम्भव भएका सबै दलसँग पार्टीले घनिभूत रुपमा छलफल चलाउने प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । साना दलसँग छलफल हुने भए पनि समय भने भइ नसकेको शर्माले बताउनुभयो ।

 

मधेसवादी दलहरुले पनि छलफलमा


काठमाडौ – समाचार अनुसार प्रधानमन्त्री चुनाव र सत्ता समीकरणका विषयमा आज मधेसवादी दलहरुले पनि अलगै छलफल गर्ने भएको छ । चुनावका विषयमा अलग्गै रणनीति बनाउन आज संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा बैठक दिउँसो बस्न लागेको हो ।


बैठक दिउँसो २ बजे सद्भावना पार्टीको कायाल्यमा बस्ने भएको छ । आफ्नो मुद्दालाई समर्थन गर्ने दललाई समर्थन गर्ने या मधेसवादी दलको तर्फबाट छुट्टै प्रधानमन्त्रीका लागि मनोनयन दर्ता गर्ने भन्ने विषयमा छलफल केन्द्रीत हुने मधेसवादी दलका नेताहरुले जनाएका छन् ।


मधेसवादी दलको तर्फबाट तमलोपाका अध्यक्ष महन्थ ठाकुरको नाम प्रस्ताव गर्ने विषयमा छलफल हुने भएको छ ।