शसस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरिक्षकलाई कारवाही गर्दै बलको मुख्यालयले नसिहत

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार शसस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरिक्षक ठाकुरमोहन श्रेष्ठलाई कारवाही गर्दै बलको मुख्यालयले नसिहत दिएको छ। संगठनको अनुमती नै नलिई स्रोत र साधनको दुरुपयोग गरेको आरोप लागेका उनलाई शसस्त्रको मुख्यालयले बुधवार नसिहत दिएको हो।

 

नक्कली विद्यावारिधी दिएर विवादमा आएको ग्रिनफोर्ड इन्टरनेशनल युनिर्भसिटीको कार्यक्रममा संगठनलाई जानकारी नै नदिई बलको जनशक्ति र बाध्ययन्त्रहरुको प्रयोग गरेर संगठनलाई बदनाम गरेको आरोप उनीमाथि लागेको थियो।

सो युनिर्भसिटीले मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य,केपी ओली, विजयकुमार गच्छद्धारलाई लगायतकालाई मानार्थ विद्यावारिधी दिन आयोजना गरेको कार्याक्रममा श्रेष्ठले सशस्त्रको व्यान्ड र जनशक्ति प्रयोग गरेका थिए।

अनुसन्धानवाट ग्रिनफोर्ड नक्कली युनिर्भसिटी रहेको र उसले दिएको मानार्थ विद्यावारिथी समेत नक्कली रहेको खुलेको थियो। मन्त्रिपरिषद्ले श्रेष्ठलाई स्पष्टिकरण सोधी आवश्यक कार्वाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि गृहको निर्देशन अनुसार सशस्त्र मुख्यालयले छानवीन गरी उनलाई नसिहत दिने निर्णय गरेको हो।


नहिसत पाएका ब्यक्तिले एक वर्षसम्म बढुवा नहुने, विदेश भ्रमण गर्न नपाउने, विशेष नियुक्ती र पुरस्कारवाट वञ्चीत हुने सशस्त्र प्रहरी ऐनमा व्यवस्था छ। श्रेष्ठ बलको प्रमुखको प्रतिष्पर्धामा थिए। अहिलेका सशस्त्र प्रहरी प्रमुख सनत बस्नेतको अवकासपछि वरिष्ठताको आधारमा उनी सबैभन्दा अगाडि छन्।

सशस्त्र स्रोतका अनुसार आरोपका विषयमा उनीसित २ पटक स्पष्टिकरण सोधे पनि उनले गल्ती स्वीकार नगरी ढाकछोपको प्रयास गरेकाले दोषी ठहर गर्दै नसिहत दिने निर्णय गरिएको हो।