काठमाडौँ- प्राप्त समाचार अनुसार व्यवस्थापिका-संसद सार्वजनिक लेखा समितिले काठमाडौँमा सञ्चालित क्यासिनोलाई उपत्यका बाहिर सार्न पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको छ ।
सिंहरदरबारमा आज बसेको समितिको बैठकले क्यासिनो सञ्चालनसम्बन्धी ऐन तयार गरी राजधानी बाहिर निश्चित स्थान तोकेर सञ्चालनका लागि अनुमति दिने निर्णय भएको समितिका सभापति रामकृष्ण यादवले जानकारी दिनुभयो ।
बैठकले १५ दिनभित्र क्यासिनो सञ्चालनका लागि कार्यविधि तयार गरी निर्णय कार्यान्वयन गर्न अर्थ र गृह मन्त्रालयलाई समेत आग्रह गर्ने निर्णय गरेको सभापति यादवले बताउनुभयो ।
समितिको बैठकले मुलुकमा सञ्चालित अन्य मिनी क्यासिनो अवैधानिक ठहर गर्दै ती क्यासिनोको इजाजत रद्द गर्न पनि निर्देशन दिएको छ । हाल उपत्यकामा आठ र पोखरामा दुई क्यासिनो सञ्चालन भइरहेका छन् ।
समितिले आजको बैठकमा पर्यटन तथा नागरिक उड्डयन सचिव किशोर थापा, अर्थसचिव रामेश्वर खनाल, गृहसचिव गोविन्द कुसुम र प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीलाई छलफलका लागि बोलाएको थियो ।