माओवादी आक्रमण पछि गोरखाको एक उच्च माध्यमिक विद्यालयका २० जना विद्यार्थी बेपत्ता

गोरखा – गोरखाबाट प्राप्त समाचार अनुसार एकिकृत माओवादी आक्रमण पछि महेन्द्र ज्योती उच्च माध्यमिक विद्यालयका २० जना  विद्यार्थी मंगलबार साँझबाट बेपत्ता छन् । माओवादीका कार्यकर्ताबाट पुनः आक्रमणमा पर्ने डरले उनीहरु परिवार तथा विद्यालयको सम्पर्क बाहिर रहेका आशंका गरिएको छ ।

बेपत्ता भएका विद्यार्थीहरु मध्ये १४ जनाको नाम खुलेको छ । विद्यालयमा मंगलबार आक्रमणमा परेपछि उनीहरु बेपत्ता भएका हुन् । घरमा गएपछि माओवादीको आक्रमणमा पर्ने डरले भागेर कुनै ठाउँमा बसेको हुनसक्ने अनुमान  अभिभावकको छ ।

बेपत्ता विद्यार्थी खोजीको माग र माओवादी आक्रमणको बिरोधमा अभिभावकहरुले भने बुधबार दिउसो गोरखा सदरमुकाममा प्रदर्शन गरेका छन् । प्रदर्शन पछि उनीहरुले जिल्ला प्रशासन कार्यालय र शिक्षा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्रमा माओवादी कार्यकर्ता विद्यालय प्रबेश गराएर विद्यार्थीमाथि आक्रमण गराउने व्यावस्थापन समिति पद्याधिकारीको राजिनामा माग गरिएको छ । साथै बेपत्ता विद्यार्थीको तत्काल खोजि गरी अभिभावकलाई जानकारी गराइदिन समेत उनीहरुले ज्ञापनपत्र मार्फत माग गरेका छन् । प्रहरीले भने बेपत्ता भएका विद्यार्थीहरु मध्ये केही स्थानीय जंगलमा लुकेर बसेको आशंकामा खोजी कार्य राखेका जनाएको छ । त्यसका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक तिल कुमार कुँवरले बताए । 

यता माओवादी आक्रमण पछि विद्यालको पठन पाठन भने प्रभावित बनेको छ । विद्यालयमा विद्यार्थी र शिक्षक उपस्थीत नभएकाले बुधबार जिल्ला स्तरीय टेष्ट परिक्षा पनि प्रभावित बन्यो  । दुई दिनदेखिको विद्यालय तनाब पूर्ण बनेको छ । विद्यालयको बिषयमा प्राचार्य तथा शिक्षकहरुले औपचारिक प्रतिक्रिया समेत दिन मानेका छैनन् ।

विद्यालयका गणित शिक्षक भाईकाजी श्रेष्ठमाथी ब्याबस्थापन समितिले कारवाही गर्ने निर्णयको विरोधमा सोमबारबाट विद्यार्थीले आन्दोलन गरेका थिए । आन्दोलनरत विद्यार्थीमाथि वाईसिएल तथा माओवादी कार्याकर्ताले मंगलबार दिउसो विद्यालय हाताभित्र आक्रमण गरेका थिए ।

बेपत्ता विद्यार्थीहरु

राजन कुमार कुँवर

भरत राना

कुमार गुरुङ

किसन थापा

अनिल परियार

दिपेश सिर्मल

राज परियार

कमल थापा

विजय तामाङ

अनिल पुलामी

विनोद परियार

खानन्द परियार

बाबु परियार

साजन थापा