– नागरिक
काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री झलनाथ खनालले सपथ नलिँदै मधेसी जनअधिकार फोरम नेपालका सहअध्यक्ष जयप्रकास गुप्ताले १५ दिनभित्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री झलनाथ खनालले शान्ति र संविधान निर्माणको आधार सुनिश्चित गर्न नसके १६ औं दिनदेखि सरकारको विकल्प खोजी सुरु हुने बताएका छन्।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुप्ताले सेना समायोजनको सङ्ख्या, मोडालिटी र संविधान निर्माणको सम्बन्धमा रहेका विवादहरु स्वतन्त्र न्यायपालिका, जातीय सङ्घीयताको विकल्प १५ दिनभित्र स्पष्टरुपमा प्रस्तुत गर्न नसके जेठ १४ गतेभित्रमा शान्ति प्रक्रिया निश्कर्षमा नपुग्ने र संविधान नबन्ने निश्चित हुने भएकाले त्यस्तो अवस्थामा सरकारको विकल्पको खोजी सुरु हुने दाबी गरेका हुन। उनले भने- यस्तो अवस्थामा सरकार पूर्ण असफल हुन्छ।
उनले नयाँ संविधान निर्माण गर्ने हो भने संविधानसभाको म्याद पुन थप्नुको विकल्प पनि नरहेकोसमेत बताए। अबको १५ दिनभित्र ठोस पहल नभए संविधान नबन्ने निश्चित हुने ठोकुवा पनि गरे उनले। सेना समायोजन र संविधान निर्माणको प्रक्रियाको दृष्टिकोणले दाहाल प्रधान मन्त्री हुँदाको अवस्था र झलनाथ खनाल प्रधान मन्त्री हुँदाको अवस्थामा कुनै तात्विक अन्तर नभएको दाबी गर्दै उनले सरकार परिवर्तनबाट मात्रै शान्ति र संविधान निर्माणमा कुनै फरक नआउने दाबी पनि गरे। व्यक्ति परिवर्तन भएर मात्रै शान्ति र संविधान सुनिश्चित हुन सक्दैन, झलनाथजीको यात्रा प्रचण्डजीले छाडेको विन्दुबाटै सुरु हुन्छ- उनले थपे।
अहिले सरकारमा जाँदा मधेसवादी दलहरुले पैसा, पद र शानबाहेक केही प्राप्त गर्न नसक्ने दाबी गर्दै गुप्ताले जनआन्दोलन र मधेस आन्दोलनको उपलब्धिलाई संस्थागत गर्नै नसक्ने ठोकुवा गरे। मधेसवादी दलका नेताहरुको अहिलेसम्मको भूमिका एउटा व्यापारीको भन्दा फरक नभएको भन्दै उनले मधेसी जनतालाई देखाएर सत्ता प्राप्त गर्नेबाहेक कुनै काम नगरेको आरोप लगाए। उनले भने- तीन महिनामा मधेसवादी दलहरुले सरकारमा गएर कुनै उपलब्धि हासिल गर्न सक्दैनन्। नेताहरुले शासन सौकत र पैसा प्राप्त गर्न सक्लान्।
सरकारमा जाने अवस्थामा आफ्नो पार्टीको संस्थागत निर्णयबाट पार्टी सरकारमा सहभागी हुने भन्दै उनले पार्टीको तर्फबाट सरकारमा सहभागिता जनाउँदा अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जानु उपयुक्त हुने बताए। अध्यक्षजी अनुभवी विद्वान् हुनुहुन्छ, त्यसैले उहाँले नै नेतृत्व गर्नु उपयुक्त हुन्छ- उनको भनाइ थियो। पार्टीको नेतृत्व अध्यक्षले नै गर्दा पार्टी एक ढिक्का हुन्छ भन्दै उनले थपे- फोरम नेपाल फुट्दैन। यद्यपि उनले आफूले भने सत्तामा जाने लोभलाई अन्तिम समयसम्म बाधेर राख्ने बताउ।
आफू प्रधान मन्त्री भएको बेला प्रचण्डले सात हजारसम्म लडाकुलाई समायोजन गर्न र चेन अफ कमाण्ड यथावत् राख्ने प्रस्ताव गरेको उल्लेख गर्दै उनले अहिले माओवादी आफैं आफ्नो प्रस्तावबाट भागेको आरोप लगाए। प्रचण्डको प्रस्तावमा कङ्ग्रेसले पाँच हजार भनेको थियो, अहिलेसम्म यसमा कुनै प्रगति हुन सकेको छैन- उनले भने।