सरकारमा सहभागी हुने विषयमा आन्तरिक विवाद झेल्दै आएको सदभावना पार्टीमा फेरि फुट,पार्टी महासचिव निलम्बन

काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार सरकारमा सहभागी हुने विषयमा आन्तरिक विवाद झेल्दै आएको सदभावना पार्टीमा फेरि फुट देखिएको छ । सदभावना संस्थापन पक्षले पार्टी महासचिव अनिलकुमार झालाई निलम्बन गरेपछि विवाद सतहमा आएको हो ।

महासचिव झाले ४० प्रतिशत सभासदसहित पार्टी फुटाएर सरकारमा जाने तयारी गरेकाले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको नेता खोभारी रायले जानकारी दिए । झालाई पार्टीबाट निलम्बन गर्नुअघि आइतबार राति अबेरसम्म पार्टी केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको थियो ।

संविधानसभामा सदभावनाका ९ सभासद् छन् । झा रौतहटबाट समानुपातिकतर्फबाट चुनिएका थिए । ‘पार्टीले प्रतिपक्षमा बस्ने निर्णयविरुद्ध गतिविधि देखिएकाले तत्काल निलम्बन गरिएको हो,’ नेता रायले भने ।

निलम्बित नेता झाले भने आफूले पार्टीविरोधी गतिविधि नगरेको दाबी गर्दै रातारात गरिएको निर्णयबाट आफू आश्चार्यचकित भएको प्रतिक्रिया दिए । ‘खै मैले त त्यस्तो पार्टी विरोधी अपराधै हुने काम गरेजस्तो लाग्दैन,’ पार्टी आरोप खण्डन गर्दै झाले भने, ‘म पनि बुझ्ने कोशीस गरिरहेको छु ।’

लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध सदभावनासहित तमलोपा र फोरम लोकतान्त्रिकले प्रतिपक्षमा बस्ने निर्णय गरेपछि झा रुष्ट थिए । उनले गठबन्धन सरकारमा बसेर मधेस मुद्दा कार्यान्वयमा लाग्नुपर्ने वकालत गर्दै आएका थिए । ‘पार्टीमा त फरक मत राख्न पाउने अधिकार नै हुन्छ नि, मैले पनि सरकारमा जानुपर्छ भने होला, अरुले जानुहुँदैन भने होला,’ उनले भने ।