‘बाध्य भएर एमालेलाई समर्थन’ गर्‍यो-क्रान्ति पुनह: हुनेछ: भट्टराई

माओवादीका उपाध्यक्ष डा.बाबुराम भट्टराईले बाध्य भई एमालेलाई सरकार गठनको लागि सहयोग गर्नुपरेको खुलासा गरेका छन् । माओवादीले अरु पार्टीको भन्दा आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनको लागि अन्तिम समयसम्म कसरत गरेको उनले बताए ।


‘आफ्नै नेतृत्वमा सरकार बनाउन चाहेका थियौं’ मंगलवार काठमाडौ विश्वविद्यालयमा आयोजित प्रगतिशील प्राविधिक विद्यार्थी संगठनको दोस्रो राष्ट्रिय भेला उद्घाटन गदै उनले भने ‘तर सकेनौ । त्यसपछि मात्र बाध्य भएर हामीसँगको नजिकको आधारमा एमालेलाई समर्थन गरेका हौं ।’ एमालेको नेतृत्वको सरकार प्रति उनले आफु असन्तुष्ट रहेको संकेत गरे । उनले यथास्थितिवादीहरुले माओवादीको नेतृत्वमा सरकार बनाउन नदिएको आरोप लगाए ।


उनले पछिल्लो समयमा आफूले पार्टी भित्र राख्दै आएको फरक मतबाट न अतालिन आग्रह गरे । ‘फरक मतले पार्टीलाई गतिशिलता प्रदान गर्दछ’ उनले भने ‘फरक मत राख्नु ठुलो कुरा होइन् यसबाट कोही पनि अतालिनु पदैन ।’ पार्टीमा आलोचनात्मक र क्रान्तिकारीता भएमा मात्र सच्चा कम्युनिस्ट हुने उनको भनाई थियो ।


अहिलेको व्यवस्था पूर्ण नभएकोले कसैले परिर्वतन रोक्न खोजे आफूहरुले पुनः क्रान्ति गर्ने खुल्ला चेतावनी भट्टराईले समेत दिए ।


‘अहिले सम्म भएका उपलब्धीहरुको रक्षा गदै जनताको संघीय गणतन्त्रको संविधान बनाउनु पर्दछ’ उनले भने ‘शान्तिपूर्ण र संवैधानिक प्रक्रियाबाट परिर्वतनको प्रक्रिया अगाडि बढोस् ।’