
कालो सिसा राखेर गाडी चलाउन र चढ्न नपाइने कानुनी व्यवस्था भए पनि पहुँचवालाहरूले त्यसको उल्लंघन गरेको भन्दै परेको रिटमाथि अन्तिम सुनुवाइ गर्दै न्यायाधीशद्वय बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
सेना, प्रहरी, सचिवलगायत राज्यका उच्च निकायका अधिकारी, मन्त्री तथा नेताहरूले आफ्नो गाडीमा कालो सिसा राख्ने गरेका छन् । केही व्यापारी तथा पहुँचवालाले पनि कालो सिसा राख्ने गरेको अधिवक्ता भोजेन्द्रबहादुर खत्री र कीर्तिबहादुर कार्कीद्वारा दायर रिटमा उल्लेख छ ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०३९ ले कसैलाई पनि कालो सिसा राख्न निषेध गरेको छ । आफूले बाहिर देख्ने र बाहिरकाले आफूलाई नदेख्ने गरी गाडीमा कालो स्टिकर टाँस्ने वा सिसा लगाउने कामले अपराध बढ्न सक्ने भएकाले ऐनले त्यसो गर्न रोक लगएको कार्कीले बताए ।
‘तर यहाँ सानालाई ऐन र ठूलालाई चैन भइरहेको छ,’ कार्कीले भने, ‘ सर्वोच्चको यो आदेशले अबचाहिँ कानुनको पालना होला कि ।’ ‘राष्ट्रप्रमुख र सरकारप्रमुख’ को हकमा भने सुरक्षा संवेदशनीलताका कारण कालो सिसा बन्देज नगरिएको न्यायाधीशद्वयको तर्क छ । उक्त रिट २०६४ सालमा दायर भएको थियो ।
कालो सिसाको गाडीभित्र बलात्कार, मानव अपहरण र हातहतियारको ओसारपसार लागयतका अपराध हुन सक्ने भएकाले त्यसलाई रोक्नुपरेको आदेशमा उल्लेख छ । बाहिरबाट भित्र देख्न नसकिने सिसाका कारण ‘अपराधी भाग्दा पनि प्रहरी परिचालन गर्न र समात्न नसकिने भएकाले अपराधले बढवा पाउने हुँदा राष्ट्रप्रमुख र सरकारप्रमुखबाहेक अन्य सवारी साधनमा बृहत्तर सार्वजनिक हितलाई ध्यानमा राखी सवारी सिसामा कालो लगाएर भित्र नदेखिने कार्य रोक्न,’ आदेशमा उल्लेख छ ।



