अब उच्च मावितर्फका लब्धाङ्कपत्र र प्रमाणपत्र क्षेत्रीय कार्यालयबाट वितरण गरिने

भक्तपुर – उच्च माध्यमिक शिक्षा परिषद्ले एक महिनाभित्र परिषद्का आठवटै क्षेत्रीय कार्यालयबाट एकैसाथ विद्यार्थीको लब्धाङ्कपत्र र प्रमाणपत्र वितरण सुरु गर्ने भएको छ ।

यसअघि विद्यार्थीलाई तत्काल लब्धाङ्कपत्र र प्रमाणपत्र आवश्यक परे भक्तपुरको सानोठिमीस्थित परिषद्को केन्द्रीय कार्यालयमै आउनुपर्ने बाध्यता थियो ।

परिषद्ले एक महिनाभित्र आफ्ना सबै क्षेत्रीय कार्यालयबाट सिधै लब्धाङ्कपत्र, प्र्रोभिजनल, प्रमाणपत्रहरू वितरण गर्ने अख्तियारी दिन लागेको परिषद्का सदस्य सचिव भीमप्रसाद गुरुङले बताए ।

यसअघि सानोठिमीस्थित केन्द्रीय कार्यालयबाट यस्ता प्रमाणपत्र बनेर हस्ताक्षर भई जाने गरेकोमा अबदेखि क्षेत्रीय कार्यालयमै यस्ता प्रमाणपत्र बनाई क्षेत्रीय प्रमुखद्वारा नै हस्ताक्षर गरी वितरण गरिने छ ।

यसो गर्दा विद्यार्थीलाई प्रमाणपत्र लिनका लागि केन्द्रसम्म धाउनु नपर्ने र छिटो पनि हुने गुरुङले बताउनुभयो । परिषद्को क्षेत्रीय कार्यालयलाई यसअघि केन्द्रले नियन्त्रित गर्दै आएकोमा अब स्वायत्तता दिने भएको छ ।

परिषद्ले एक महिनाभित्र सबै क्षेत्रीय कार्यालयहरूमा कम्प्युटर सञ्जाल सञ्चालन गरिसक्ने भएको छ । काठमाडौँ क्षेत्रीय कार्यालयमा नेटवर्किङ सुरु गरिसकेको र अन्य कार्यालयमा पनि तत्कालै सञ्चालन गर्नेछ ।

परिषद्का हाल काठमाडौँ, विराटनगर, जनकपुर, हेटौडा, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय रहेका छन् ।

त्यसैगरी परिषद्ले प्रवेशिका परीक्षामा उत्कृष्ट भएका तर कुनै पनि छात्रवृत्ति नपाएर उच्चशिक्षा पढ्न नपाएका व्यक्तिलाई पढ्नका लागि वार्षिक रु २० हजारका दरले रकम दिने भएको छ ।

त्यस्तै परिषद्ले परीक्षाफलमा चित्त नबुझे विद्यार्थीले चाहेको खण्डमा उत्तरपुस्तिका पुनःपरीक्षण गर्न दिनका लागि सम्भाव्यता अध्ययनसमेत सुरु भएको गुरुङले बताए । रासस