भुटानको थिम्पुमा बुधबार भएको सार्क मन्त्रिस्तरीय बैठकले सार्क भिसा छुट योजनामा छलफलपछि त्यस्तो सहमति जुटाएको हो । बैठकले अनुमोदन गरेको प्रस्तावअनुसार तोकिएका १९ समूहका व्यक्तिले हाल कायम भिसा प्रणालीको झन्झटबाट मुक्ति पाउने छन् । भिसाको सट्टा उनीहरूलाई सजिलोका लागि तीनदेखि छ महिनासम्मको बहुप्रवेशाज्ञा अनुमतिसहितको सार्क भिसा स्टिकर सम्बन्धित मुलुकका विदेश मन्त्रालयले उपलब्ध गराउने छन् ।
कुनै निश्चित सहरमा मात्रै भ्रमण सीमित गर्नुपर्ने तथा प्रहरीमा रिपोर्टिङ गर्नुपर्ने र अनेक फाराम भर्नुपर्नेलगायत झन्झट पनि भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसबाट लाभाविन्त हुनेमा उद्योगी, व्यवसायी, खेलाडी, सार्कका आयोजनाहरूमा आबद्ध व्यक्तिहरू पनि पर्ने छन् ।
नेपालसहित भारत, पाकिस्तान, अफगानिस्तान, बंगलादेश, भुटान, मालदिभ्स र श्रीलंका आबद्ध सार्कको उक्त बैठकले सार्क विश्वविद्यालयसँग सम्बन्धित बाँकी काम छिटो पूरा गर्ने सहमति पनि जुटाएको छ । विश्वविद्यालय नियन्त्रण बोर्डको बैठक अर्को महिना डाकी विश्वविद्यालयको कार्यसमितिमा नियुक्ति तथा विश्वविद्यालय नियमबारे टुंगो लगाउनेछ । भारतको नयाँदिल्लीमा स्थापना हुने उक्त विश्वविद्यालयले यसै वर्षदेखि ५० विद्यार्थीसहित जवाहरलाल नेहरू विश्वविद्यालय भवनमा पढाइ सुरु गरिसकेको छ ।
यसैगरी सदस्य मुलुकबीच सम्बन्ध विस्तारका लागि दबाब समूहका रूपमा गैरसरकारी अधिकारी सम्मिलित सार्क फोरम गठन गर्न पनि उनीहरू राजी भएका छन् ।



