सात बुँदे सहमतिमा एमालेबाट प्रतिबद्धता नआएसम्म माओवादीले सरकारमा नजाने निर्णय

काठमाडौं  – काठमाडौंबाट प्राप्त समाचार अनुसार  सात बुँदे सहमतिमा एमालेबाट प्रतिबद्धता नआएसम्म माओवादीले सरकारमा नजाने निर्णय गरेको छ ।

पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा शुक्रबार बसेको स्थायी समिति बैठकले सात बुँदे सहमतिका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न एमालेसँग आग्रह गरेको छ । ‘एमालेबाट अहिलेसम्म ७ बुँदे सहमतिका बारेमा सकारात्मक धारणा आएको छ तर केही अस्पष्टता देखिएको छ,’ बैठकपछि माओवादी प्रवक्ता दीनानाथ शर्माले संवाददाताहरुसँग भने, ‘हाम्रो बैठकले यस विषयमा एमालेसँग स्पष्ट धारणा माग गर्ने निर्णय गरेको छ ।’

माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष झलनाथ खनालबीच एक साताअघि भएको सात बुँदे सहमतिमा केही अस्पष्टता रहेको भन्दै एमाले परिमार्जनको पक्षमा छ । तर माओवादीले भने सहमति अनुसार नै अघि बढ्नुको विकल्प नभएको बताउँदै आएको छ ।

सहमतिअनुसार नै आफ्नो दललाई गृह मन्त्रालय दिइनुपर्ने भन्दै माओवादीले सरकारमा नजाने निर्णय गरेको छ ।  गृहमन्त्रालयमा एमालेसँग सहमति हुन नसकेपछि माओवादीले बिहीबार सरकारमा नजाने निर्णय गरेको थियो । प्रवक्ता शर्माले सहमति कार्यान्वयन नभए माओवादी प्रतिपक्षमा बस्न सक्नेसमेत संकेत गरे ।

माओवादी बैठकले  आगामी फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको छ । माओवादीले रोकिएका पार्टी प्रशिक्षण पुनः सुचारु गर्ने निर्णय गरेको छ । उसले फागुन ४ गते पोखरा, ६ गते सिमरा, ८ गते बिराटनगर र १० नेपालगञ्जमा पूर्व निर्धारित प्रशिक्षण कार्यक्रम गर्ने निर्णय गरेको प्रवक्ता शर्माले जानकारी दिए । 

प्रेस-विज्ञप्ती

आज मिति २०६७ माघ २८ गते एकीकृत नेकपा (माओवादी)को स्थायी समितिको बैठक अध्यक्ष क. प्रचण्डको अध्यक्षतामा सम्पन्न भयो र बैठकमा निम्न विषयमा निर्णयहरू भयो ।

१.     एकीकृत नेकपा (माओवादी) तथा नेकपा (एमाले)बीच सरकार निर्माणको सन्दर्भमा भएको सात बुँदे सहमतिबाट एमाले पछि हटेकोले त्यस सम्बन्धमा एमालेको आधिकारिक धारणा नआउँदासम्म एमालेको सरकारलाई बाहिरबाट समर्थन गर्ने केन्द्रीय कार्यालयको निर्णयलाई अनुमोदन गरियो ।

२.     फागुन १ गते जनयुद्ध दिवस सम्पूर्ण पार्टी पङ्क्ति, मोर्चा तथा जवसहरू समेतले भव्य र सानदार रूपमा मनाउने ।

३.     फागुन ४ गतेदेखि १० गतेसम्म निम्नअनुसार प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने –