ललितपुर – नेपाली संचारमाध्यमहरुले उल्लेख गरे अनुसार मधेसी जनअधिकार फोरम नेपालले सरकारमा संलग्न राजनीतिक दलहरुले मधेसका मुद्दाहरुलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाए वर्तमान झलनाथ खनाल नेतृत्वको सरकारमा जाने निर्णय गरेको छ ।
फोरम नेपाल केन्द्रीय कार्यालय बालकुमारीमा आज बसेको बैठकले मधेसका मुद्दाहरुमा विगतमा भएका सहमति कार्यान्वयन गर्ने र शान्तिप्रक्रिया, संविधान निर्माणमा सरकारमा सामेल रहेका प्रमुख दलहरुले प्रतिबद्धता जनाए सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
मधेसी जनअधिकार फोरम नेपालका प्रवक्ता रत्नेश्वरलाल कायस्थले वर्तमान सरकारमा सहभागी प्रमुख दलहरुले मधेसका मुद्दालाई सम्बोधन गरी शान्ति र संविधानको प्रत्याभूति दिए वर्तमान सरकारमा जाने निर्णय बैठकले गरेको बताउनुभयो ।
बैठकले शान्तिप्रक्रिया, संविधान निर्माण, मधेसका समस्या र सरकार गठनसम्बन्धी आवश्यक प्रक्रियालाई अघि बढाउन रामसहायप्रसाद यादवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा रेणुकुमारी यादव, मो. इस्तियाक राय, नन्दनकुमार दत्त, आत्मारामप्रसाद साह र हरिनारायण यादव रहनुभएको छ ।
यस्तै बैठकलेे विगतका सहमतिसहित शान्ति र संविधानमा प्रमुख दलहरुबाट प्रतिबद्धता जाहेर गरी सम्मानजनक ढङ्गले सहभागितालाई स्वीकारेको खण्डमा सरकारमा सामेल हुने निर्णय गर्ने अधिकार राजनीतिक समितिलाई दिने निर्णय गरेको छ ।
यसैगरी फोरम नेपालले मतदाता परिचयपत्रसम्बन्धी सर्वोच्च अदालतले हालै गरेको मतदाता परिचयपत्र पाउनका लागि अनागरिकताको प्रमाणपत्र अनिवार्य हुुनुपर्ने फैसलाले संविधान, मानवीय कानुन, मधेसी विरोधी एवम् पूर्वाग्रहपूर्ण रहेको भन्दै उक्त फैसलाको बिरोध गरेको छ ।