सर्वोच्च अदालतद्बारा सद्भावना पार्टीका तर्फबाट सभासद् भएका श्यामसुन्दर गुप्तालाई पदमुक्त गर्ने फैसला

काठमाडौं – प्राप्त समाचारमा जनाइए अनुसार सद्भावना पार्टीका तर्फबाट सभासद् भएका श्यामसुन्दर गुप्ता सर्वोच्च अदालतको फैसलाले पदमुक्त भएका छन्। न्यायाधीशद्वय बलराम केसी र भरतराज उप्रेतीको संयुक्त इजलासले सद्भावनाका तर्फबाट पटकपटक सरिता गिरी र खुशीलाल मण्डलले दायर गरेको रिटमा अन्तिम सुनुवाई गर्दै गुप्तालाई पदमुक्त गर्ने फैसला सुनाएको हो।


सद्भावनाको तर्फबाट संविधानसभा सदस्यमा खुशीलाल मण्डलको नाम सिफारिस भएपनि तत्कालीन गिरीजाप्रसाद कोइराला नेतृत्वको सरकारले २०६५ असार २० गते मण्डलको ठाउँमा गुप्तालाई सभासद्मा मनोनयन गरेको थियो।

अन्तरिम सविधान २०६३ को धारा ६३ (३)(ग) अनुसार पार्टीको सहमतिको आधारमा मनोनयन गर्नुपर्नेमा मन्त्री परिषद्ले नै मनोनयन गरेको भन्दै गिरी र मण्डलले सर्वोच्चमा मन्त्री परिषद्को निर्णय बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। संविधानले पार्टीको सहमतिको आधारमा सभासद् सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ।


शुक्रबार सर्वोच्चले पार्टीभित्रको सहमतिको आधारमा नभई मन्त्री परिषद्ले संविधानको व्यवस्था विपरित गुप्तालाई मनोनयन गरेको भन्दै गुप्ताको सभासद् पद खारेज गरेको हो।