काठमाडौं – काठमाडौंबाट प्राप्त समाचार अनुसार माओवादीसँग छलफलै नगरी प्रधानमन्त्री झलनाथ खनालले उपपध्रान तथा अर्थमन्त्रालयको जिम्मेवारी भरतमोहन अधिकारीलाई दिएका छन्। खनालको निर्णयप्रति सत्ता समर्थक माओवादीले आपत्ति जनाएको छ। मन्त्रिपरिषद कार्यालयले शनिबार संसदलाई पत्र पठाउँदै अधिकारी उपप्रधान तथा अर्थमन्त्री रहेको जानकारी गराएको हो।
तीन सदस्यीय मन्त्रिमण्डलका विष्णु पौडेल र गंगलाल तुलाधरको पोर्टफोलियो भने अझै स्पष्ट भएको छैन।
एकल निर्णयबाट मन्त्री चयन गर्ने खनालको कदमप्रति माओवादीले आपत्ति जनाएको छ। शनिबार संसदमा उपस्थित भएका प्रधानमन्त्री खनालसँग माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका थिए। खनालले मन्त्री चयन बारे माओवादी अध्यक्षलाई जानकारी गराउन खोजेको तर फोन नलागेको भन्ने जवाफ दिएको स्रोतले बतायो।
‘मन्त्री चयन कदमप्रति हामीले आपत्ति जनायौं’, श्रेष्ठले संवाददातासँग भने- ‘प्रधानमन्त्रीले आर्थिक अध्यादेश पेश गर्नुपर्ने बाध्यत्मक कारणले गर्दा जिम्मेवारी दिइएको बताउनुभयो।’
नवनियुक्त अर्थमन्त्रीले आजै बजेटसम्बन्धी चार अध्यादेश संसदमा पेश गरेका छन्।