पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पारित गर्न संसदमा प्रक्रिया सुरु

काठमाडौ । पूर्ववर्ती सरकारले अध्यादेशमार्फत ल्याएको बजेट पारित गर्न संसदमा प्रक्रिया सुरु भएको छ । व्यवस्थापिका संसदको आज बसेको बैठकले नवनियुक्त अर्थमन्त्री भरतमोहन अधिकारीले पेश गर्नुभएको आर्थिक अध्यादेश, विनियोजन अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश र ऋण तथा जमानत अठारौ संशोधन अध्यादेश स्वीकृत गरेको छ ।


सरकारले पेश गरेका अध्यादेशमा कसैले पनि विरोधको सूचना पेश गरेका छैनन् । संसदमा पेश गरिएका अध्यादेश प्रतिस्थापन विधेयक वितरण गरिएको छ । संसदको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे पुनः बस्नेछ ।

यसैबीच, प्रधानमन्त्री झलनाथ खनालले उपप्रधानमन्त्री भरतमोहन अधिकारीलाई अर्थ मन्त्रालयको जिम्मेवारी तोक्नु भएको छ । संसदको आज बसेको बैठकमा सभामुख सुवासुचन्द्र नेम्वाङ्गले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको पत्र पढेर अधिकारीलाई अर्थमन्त्रीको जिम्मेवारी तोकिएकोबारे जानकारी गराउनु भएको हो ।