– गणेश ओली/लिवाङ ,रोल्पा
रोल्पा । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनविद्रोहको अन्तिम तयारीमा रहेको बताउनु भएको छ । अन्तिम प्रक्रियामा पुगेको शान्ति प्रक्रिया र संविधान लेखनमा अवरोध भए जनविद्रोह गर्नुको विकल्प नहुने उहाँको भनाई छ ।
१६औं जनयुद्ध दिवस तथा दशौं जनमुक्ति सेना दिवसको अवसरमा आज रोल्पाको थवाङमा आयोजित सभालाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले जनविद्रोहले सबैखाले सामन्तवादको अन्त्य गरी वास्तविक जनताको सत्ता स्थापना गर्ने बताउनुभयो ।
वास्तविक अर्थमा राष्ट्र र जनतालाई स्वाधिन नबनाएसम्म तथा नेपाली जनता स्वतन्त्र र मुक्त नभएसम्म माओवादी लडिरहने उहाँको भनाई थियो । जनयुद्धको क्रममा रोल्पालगायत सबै जिल्लाका जनताको त्याग र बलिदानलाई सँधै सम्मान गर्ने भन्दै उहाँले जनता जागिसकेपछि कागजी बाघको रुपमा रहेको सामन्तवाद ढल्ने निश्चित भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले दश बर्षे जनयुद्ध औपचारिक रुपमा अन्त्य भएपनि देशलाई गृहयुद्धमा धकेल्न देशीविदेशी प्रतिक्रियावादीहरु लागी परेकाले त्यसलाई रोक्न आफुहरुको संघर्ष जारी रहनेमा जोड दिनुभयो । अध्यक्ष प्रचण्डले सरकारबिहीनताको अवस्थामा माओवादीले निकास दिएकाले छिट्टै सरकारमा सहभागी भई जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यसैबीच जनमुक्ति सेना नेपालका प्रमुख नन्दकिशोर पुन पाशाङले काठमाडौंमा राजनीतिक मुठभेड जारी रहेकाले जनयुद्ध र राजनीतिक क्रान्ति जारी रहेको बताउनुभएको छ। माओवादी अध्यक्ष प्रचण्डले आजै रोल्पाको थवाङमा निर्मित सहकारी अस्पतालको उद्घाटन गर्नुभएको थियो ।
माओवादीद्वारा धनगढीमा खुशियाली जुलुस प्रदर्शन
कैलाली। १६औं वर्ष अवसर पारेर एकीकृत नेकपा माओवादीले आज कैलालीको धनगढीमा बाजागाजासहितको खुशियाली जुलुस निकालेको छ । धनगढीको क्याम्पस रोडमा पार्टी कार्लालयबाट निस्केको खुशीयाली जुलुस बजार परिक्रमा गरेको थियो ।
कार्यकर्ताहरुले एक आपसमा पार्टी निकट, शुभेच्छुकहरुमा अबिर दलेर खशुीयाली मनाएका छन् । र्याली धनगढी ट्राफिक चौराहा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै एकीकृत नेकपा माओवादी कैलालीका नेताहरुले राष्ट्र र स्वाधिनता रक्षाका लागि पार्टीले प्रधानमन्त्री बनाउनमा एमालेका झलनाथ खनाललाई सहयोग गरेको बताएका छन् ।